अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण



संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उहाँकै घरभित्रै पसेर आक्रमण भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए । उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएको बीबीसीले उल्लेख गरेको छ । पछि ती व्यक्तिले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेको बताइएको छ ।

आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गर्नुभएको थियो । केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ ।

४२ वर्षीय डेभिड डेपापे नामका ती पुरूषले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

आक्रमणबाट पउलको टाउको, पाखुर र हात चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउल चाँडै निको हुने चिकित्सकहरूले अपेक्षा गरेका छन् ।

पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा हुनुहुन्थ्यो । नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भर्त्सना गर्नुभएको छ । यसैगरी, विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन् ।