आगामी चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो: कांग्रेस प्रवक्ता महत

आगामी चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो: कांग्रेस प्रवक्ता महत


ग्लोब नेपाल
378
Shares

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गरे । उनले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गरे ।

‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ,’ उनले भने, ‘कांग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’

नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गरे । नेकपाकालीन सरकारमा नागरिकले धेरै दुस्ख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए ।