पप्पुको जब्दीघाट पुलको ठेक्का तोडियो, कमला पुलको तोड्ने तयारी

पप्पुको जब्दीघाट पुलको ठेक्का तोडियो, कमला पुलको तोड्ने तयारी


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । कार्तिक २३ र २४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, डिभिजन सडक कार्यालय नेपालगन्जले जब्दीघाट पुल निर्माण ठेक्का सम्झौता अन्त्य गरिएको र हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले कमला पुलको खरिद सम्झौता तोड्ने प्रकृया अघि बढाएको सूचना सार्वजनिक गरेको छ ।

कालो सूचिमा रहेको पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाट पुल निर्माण अधिकांशका भौतिक संरचना कमजोर देखिएपछि दुवै कार्यालयले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाट पुल निर्माण खरिद सम्झौता अन्त्य गरेको सूचना सार्वजनिक गरिसकेको छ । २०६८ असार २२ गते बर्दिया जिल्लामा रहेको जब्दीघाट पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।

पुल निर्माणकै क्रममा त्रुटी हुन गइ सर्वसाधारणलाई समेत आवातजावतमा समस्या हुन गएकाले उक्त त्रुटी सच्चाउन संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालयले पटक पटक पत्राचार गरेको थियो । तर उक्त त्रुटी सच्याउन वेवास्ता गरिएकोले ठेक्का सम्झौता अन्त्य भएको छ ।

यस्तै पप्पु कन्स्ट्रक्सन संलग्न रहेको पप्पु–लुम्बिनी जे.भिले निर्माण गरेको कमला पुलको निर्माण ठेक्का सम्झौता पनि तोडिने क्रममा छ । हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौं र पप्पु लुम्बिनी जे.भि. बीच योजना कार्यालय जनकपुरअन्तर्गत सञ्चालित कमला पुलको निर्माणका क्रममा २०७८ असार महिनामा आएको बाढीकाले जग भासिएर पुल क्षतिग्रस्त भएको थियो ।

पुल पुनस्र्थापनाका लागि व्यवसायीसँग लिखित ताकेता तथा बैठक बसी छलफल भएबमोजिम हालसम्म पनि पुनस्र्थापना कार्य अगाडि नबढाएकाले निर्माण व्यवसायीसँग भएको सम्झौता तोड्ने प्रकृया अघि बढेको छ । ‘सम्झौता किन नतोड्ने’ भनी पछिल्लो पटक निर्माण व्यवसायीलाई निर्देशनालयले सार्वजनिक सूचना जारी गरिसकेको छ ।