अनेसासको ट्रष्टि अध्यक्षमा पाण्डेयको उम्मेदवारी

अनेसासको ट्रष्टि अध्यक्षमा पाण्डेयको उम्मेदवारी

समर्थनमा माहोल बढ्दै


ग्लोब नेपाल
0
Shares

मेरिल्याण्ड । नं. १० अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ट्रष्टि बनेका डाक्टर श्याम कार्कीले उल्लेख गरेको ट्रष्टि नम्बर ।

गत शुक्रबार आसन्न बोर्ड अफ ट्रष्टिको अध्यक्षका उम्मेदवार बनेका साहित्यकार, लेखक तथा कवि तीर्थराज पाण्डेयको प्रस्तावक बनेर उक्त नम्बरसहित हस्ताक्षर गरेका कार्कीले आफ्नो विवरणमा उल्लेख गरेका छन् ।

विगत पाँच दशकदेखि अमेरिकामा आफ्नो पेशागत जीवनयापन गरेका कार्कीले अनेसासमार्फत नेपाली भाषा र साहित्यको उत्थान, विकास र संस्थागत संरचना बनाउन गर्व गर्न लायक योगदान गरेका छन् ।

उनको भनाइलाई सापट लिने हो भने– ‘अनेसासको विगत तीन दशकको इतिहासमा एक अथक साधक, परिश्रमी र नेपाली भाषा तथा साहित्यको क्षेत्रमा अमेरिकामा रहेका केही व्यक्तिहरूमध्ये पर्नुहुन्छ, तीर्थराज पाण्डेय।’

आफ्नो सामाजिक कर्मको अलावा मेरिल्याण्डमा राजनीतिक, आर्थिक, व्यवसायीलगायतका क्षेत्रमा जमेर बस्दै आएका पाण्डेयले ट्रष्टिको अध्यक्षका रूपमा आफ्नो दाबी पेस गरेपछि माहोल उनको पक्षमा स्पष्ट देखिएको छ। त्यसैले बीओटीका पूर्वअध्यक्ष, नेपाली समुदायका अगुवा, भाषा, कला तथा संस्कृतिका अभिभावकका रूपमा सम्मान हासिल गरेका कार्कीले पाण्डेयलाई समर्थन गरेका छन्।

कार्कीले पाण्डेयजत्तिको अर्को व्यक्ति वर्तमान अवस्थामा नभएकाले पनि उपयुक्त व्यक्ति, उचित पदमा भन्ने आशयले आफूले समर्थन गरेको बताएका छन्।

के हो बीओटी ?
विगत ३५ वर्षदेखि सञ्चालनमा आएको अनेसासका करिब ३ हजार आजीवन सदस्य रहेका छन्। यसैगरी चार दर्जनभन्दा बढी च्याप्टर गठन भएका छन् भने दुई दर्जनभन्दा बढी च्याप्टरले नियमित रूपमा कार्य गर्दै आएका छन्। यसैगरी केन्द्रीय कार्यसमितिले विभिन्न कार्यक्रम गर्दै आएको छ। केन्द्रीय कार्यसमितिमा प्रवासमा बस्दै आएका साहित्यकारहरूको सहकार्य र समन्वयका लागि समेत विभिन्न भूगोलका आधारमा क्षेत्रीय उपसभापति चयन हुने व्यवस्था मिलाइएको छ।

त्यसैले प्रवासमा अफ्रिकादेखि अस्ट्रेलियासम्म, अमेरिकादेखि लन्डनसम्म, जापानदेखि दक्षिण कोरियासम्मका साहित्यका लेखक, कवि, गजलकारलाई यसले समेट्दै आएको छ। यसैगरी बोर्ड अफ ट्रष्टिमार्फत संस्थाको अभिभावकीय नेतृत्वसमेत प्रदान गरिएको छ।

डायस्पोरा साहित्यमा महत्वपूर्ण योगदान गरेको अनेसासको संगठनात्मक संरचनामा तीन तह रहेका छन्। जसमा च्याप्टरहरू, अनेसास केन्द्रीय कार्यसमिति र बीओटी रहेका छन्। यो अमेरिकाको हकमा गैरनाफामूलक संस्थाको संगठनात्मक संरचनामा उत्कृष्ट अभ्यासमध्ये एक मानिन्छ। अनेसास अमेरिकामा नै गठन भएको र यहीँको कानुनअनुसार दर्ता भएकाले पनि यसका कतिपय अभ्यास सोहीअनुसार गरिँदै आएको देखिन्छ।

बीओटी संस्थाको सबैभन्दा महत्वपूर्ण, निश्चित कार्य गर्ने गरी गठन गरिएको हुन्छ। बीओटीको कार्यसम्पादनमा केन्द्रीय समितिसँग समन्वयात्मक सम्बन्ध भएता पनि च्याप्टरहरूसँग खासै त्यस्तो सम्बन्ध भने रहँदैन।

त्यसैले बीओटीको आगामी महिना हुन गइरहेको निर्वाचनमा एक सशक्त उम्मेदवारका रूपमा पाण्डेय मैदानमा उत्रिएका छन्। उनी विगत दुई दशकभन्दा बढी समयदेखि अनेसासमा सक्रिय हुन्। अनेसासको हरेक कार्यक्रममा उनको निरन्तर सहयोग, साथ र सक्रियताविना असम्भव छ। विभिन्न निर्वाचनमा समन्वय गरेर होस् या पुरस्कार वितरणमा पारदर्शिता अपनाएर होस्, उनले आफूलाई एक खरो सामाजिक अभियन्ताका रूपमा स्थापित गराइसकेका छन्।

पाण्डेयले अमेरिकाभित्र अनेसासले सञ्चालन गर्ने कार्यक्रममा मियो बनेर अग्रजहरूको सम्मान र नवआगन्तुकहरूलाई समावेशी भन्ने सोचका साथ सदैव अनेसासको ढोका खुला रहने बताएका छन्। विधि विधानलाई अक्षरशः पालना गर्ने, आर्थिक हिसाबकिताबलाई चुस्तदुरुस्त राख्नुपर्ने र संस्थामा योगदानका आधारमा जिम्मेवारी भन्ने मूलमन्त्रका साथ उनी सदैव अग्रपंक्तिमा उभिएका छन्।

त्यसैगरी अमेरिकाको राज्य तथा स्थानीय तहको राजनीतिमा होस्टेमा हैंसे प्रदान गर्न पनि पछाडि नपरेका पाण्डेयले विभिन्न संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम तथा धार्मिक अनुष्ठानमा समेत सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन्।

उनले अनेसासको ट्रष्टिको अध्यक्षको जिम्मेवारी पाएको खण्डमा संस्थालाई अझ व्यवस्थित र सबैलाई समेटेर अगाडि बढ्नुहुने विश्वास रहेको डा. कार्कीले बताएका छन्।

बोर्ड अफ ट्रष्टिको अध्यक्ष हुन त्यति सहज भने छैन। किनभने यसलाई असाध्यै व्यवस्थित ढंगले अगाडि बढाउनुपर्ने हुन्छ। त्यसैले जस्तो पाए त्यस्तै व्यक्तिबाट त्यो नेतृत्व हुन सक्दैन।

यो नेतृत्वको क्षमता मैले तीर्थ पाण्डेयमा देखेको छु। कार्कीले अगाडि भने– ‘संस्थागत संरचना, केन्द्रीय समितिसँगको समन्वय तथा सहकार्य गर्नुपर्ने अवस्थामा त्यसका लागि समन्वयकारी व्यक्तित्वको खाँचो हुन्छ, त्यो पनि पाण्डेयमा देखिन्छ।’

यसैगरी पाण्डेय अनेसास मात्र होइन, अरू विभिन्न संघसंस्थामा पनि त्यत्तिकै ख्याति प्राप्त व्यक्तित्वका रूपमा आफूलाई स्थापित गराइसकेका छन्।

अनेसासका बोर्ड अफ ट्रष्टिका सदस्यहरूले उनलाई विभिन्न तरिकाले हौसला प्रदान गरिरहेकाले नेतृत्व हस्तान्तरणमा थप बल पु्गेको छ । ट्रष्टि सदस्यहरूले उनलाई पल्ला भारी भएको उम्मेदवारका रूपमा लिएका छन्।