धनुषा-४ मा पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा-४ मा पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा


ग्लोब नेपाल
459
Shares

धनुषा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवार बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अहिले पनि तीनवटै दलबाट २०७४ कै प्रतिस्पर्धी उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादव र सत्तागठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव प्रतिस्पर्धी रहेका छन् ।

यस पटकको चुनावी माहोल केही फरक देखिएको छ । गत चुनावमा एमाले र माओवादी गठबन्धनबाट चुनाव जित्न सफल भएका महासेठ लाई केन्द्रमा जस्तो एमाले र जसपाबीचको तालमेल यस क्षेत्रमा हुन सकेको छैन ।

यता सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवलाई लोसपा, नेकपा समाजवादी र माओवादीको साथ रहेको छ । यस पटकको गणित फरक रहेकाले आफुहरुले जित्ने निश्चित् रहेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहको दाबी छ ।

माओवादी केन्द्र, नेकपा एस कांग्रेसको गठबन्धनमा रहेका छन् । विस २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेका पालिकामा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले स्थानीय तहमा जित हासिल गरेको छ । त्यसकारण पनि एमालेका उम्मेदवार महासेठका लागि चुनौती देखिन्छ ।

स्थानीय मतदाताले कांग्रेसका महेन्द्र यादव र एमालेका महासेठबीच नै सोझो र मुख्य प्रतिस्पर्धा रहेको बताउँछन् । लक्ष्मीनियाँ गाउँपालिकाका नवलकिशोर यादवले चुनावमा जितको अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउछन् । “क्षेत्र र प्रदेशका मतदाता परिवर्तनको पक्षमा रहेका छन्,” उनले भने, “चुनावको परिणामपछि नयाँ अनुहार नेतृत्वमा देखिँदा आश्चर्य हुने छैन् ।”

क्षेत्र नं ४ को १ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसपा प्रदेश कमिटीका उपाध्यक्ष शेषनारायण यादव कांग्रेसको टिकटमा प्रदेशसभाको चुनाव लडिरहेका छन् । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई सघाएको आरोप लागेका ज्ञानेन्द्र यादव जसपाको टिकट फेरि प्राप्त गरेका छन् । कांग्रेसमा धनुषाको सभापतिमा पराजित हुनु भएको सन्तोष यादव एमालेबाट प्रदेश चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

क्षेत्र नं ४ को २ मा नेकपा एस बाट शत्रुधन महतो, नेकपा एमालेका हरिनारायण महतो मुख्य प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।

यस्तो छ चुनावी अङ्क गणित:

यसअघि प्रतिनिधि सभामा एमालेका उम्मेदवार रघुवीर यस क्षेत्रका प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् । एमाले सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री रघुवीरसँग २०७४ को निर्वाचनमा २२ हजार पाँच सय ३२ मत प्राप्त गरि जित हात पारेका थिए । रघुवीरका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार नौ सय ९१ र महाजनले १९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्र अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । क्षीरेश्वरनाथ नरपालिकाको उपमेयर सहित बहुसङ्ख्यक वडा पनि जितेको छ ।

एमालेले क्षीररेश्वरनाथ नगरपालिकाको प्रमुख तथा दुई वटा वडा र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ ।

काङ्ग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार नौ सय ९२ मत सत्ता गठबन्धनसँग रहेको देखिन्छ । यस क्षेत्रमा कुलमतदाता ९८ हजार तीन सय ६० रहेको छ जसमध्ये धनुषा ४ (१) को कूल मतदाता ४७ हजार सात सय १८ र (२) को कूल मतदाता ५० हजार छ सय ४२ रहेको छ ।

एमाले र जसपाको अलग–अलग प्रतिस्पर्धाले चुनाव जित्न नेपाली काङ्गेसका उम्मेदवार यदवलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।
उम्मेदवारहरुको आ–आफ्नै दाबी सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार यादवले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउछन् । “गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो,” उनले भने ।

रघुवीर महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा विकास निर्माणका काम गरेको र जनताले फेरि पनि आफूलाई जिताउने दाबी गरे । “पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले मप्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ” उनले भने ।

जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने बताए । उनले भने, “म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । जनताको ठूलो विश्वास र भरोसा छ ।”