निर्वाचन प्रक्षेपणः यस्तो आउन सक्छ यसपटकको नतिजा

निर्वाचन प्रक्षेपणः यस्तो आउन सक्छ यसपटकको नतिजा


ग्लोब नेपाल
12.2k
Shares

काठमाडौं । यसपटकको निर्वाचन नतिजामा धेरैको ज्योतिष विज्ञान (अनुमान) फेल हुने देखिएको छ । मतदातामा देखिएको अन्योलताले अन्तिम समयमा परिणाम कस्को पक्षमा जान्छ भन्न नसकिने अवस्था सिर्जना भएकाले धेरैको अनुमान फेल खाने निश्चित छ । तर पनि ग्लोब नेपालले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरका वडाध्यक्षले प्राप्त गरेको मत परिणाम, पछिल्लो समयमा स्वतन्त्र उम्मेदवारको बढ्दो क्रेज र ठूला राजनीतिक दल र तिनका नेताहरुप्रति देखिएको नागरिकको वितृष्णालाई आधार मानेर यसपटकको निर्वाचनको प्रक्षेपण गरेको छ ।

निर्वाचन आउन २ दिन अघि मात्र यो प्रक्षेपण तयार पारिएको हो । यस अवधिमा निर्वाचनको महोल र मतदाताको मनस्थितिमा फेलबदल आएमा यो नतिजा अझै तलमाथि हुनसक्ने सहजै आंकलन गर्न सकिन्छ ।

यो प्रक्षेपण तयार गर्दासम्मको चुनावी महोल, मतदाताको मनस्थिति र ठूला राजनीतिक दलका नेताहरुको विवादस्पद र अविश्वसनीय अभिव्यक्ति केलाउँदा नेपाली कांग्रेसले ६०, नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले २५, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले ५–५ सिट जित्न सक्ने छ । रवि लामिछानेको स्वतन्त्र पार्टी अन्य स्वतन्त्र उम्मेदवारहरु गरी १० सिट जित्न सक्ने छ ।

२८ सिट भएको प्रदेश १ मा कांग्रेसले १२, एमालेले १०, माओवादीले २, राप्रपा र नेकपा (एस) ले १–१ र अन्यले २ सिट जित्न सक्ने देखिन्छ । यस्तै ३२ सिट भएको मधेश प्रदेशमा कांग्रेसले १०, एमालेले ५, माओवादीले ४, जसपाले ६, लोसपाले ५ र अन्य १ जनाले जित्नसक्ने अनुमान गरिएको छ । यस्तै ३३ सिट भएको बागमति प्रदेशमा कांग्रेसले ११, एमालेले ८, माओवादीले ६, राप्रपाले २, समाजवादीले ३ तथा स्वतन्त्र पार्टीले २ र १ जना स्वतन्त्र उम्मेदवारको जित्ने सम्भावना बलियो देखिएको छ ।

१८ सिट भएको गण्डकी प्रदेशमा कांग्रेस एक्लैले १० सिट जित्ने अनुमान गरिएको छ । एमाले ५ र माओवादीले २ तथा १ जना स्वतन्त्र विजयी बन्न सक्ने देखिन्छ । यस्तै २६ सिट भएको लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेले ८–८ सिट जित्न सक्छन् । त्यसबाहेक माओवादीले ५, राप्रपाले २, नेकपा एसले १ तथा २ स्वतन्त्र उम्मेदवार विजयी हुनेसक्ने देखिन्छ ।

कर्णालीको १२ सिटमध्ये ५ कांग्रेसले जित्ने अनुमान गरिएको छ भने माओवादीले ४, नेकपा (समाजवादी) ले २ र एमालेले १ सिट जित्नसक्छ । त्यसैगरी सुदूरपश्चिमको १६ सिटमध्ये एमाले एक्लैले ७ सिट जित्नसक्छ । कांग्रेसले ४, माओवादी र नेकपा (एस) ले २–२ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले १–१ सिट जित्न सक्ने छन्, भने ४ जनासम्म स्वतन्त्र उम्मेदवार विजयी हुन सक्ने अनुमान गरिएको छ । स्वतन्त्र उम्मेदवार दिएकामध्ये उदयपुर–२ का रामप्रसाद राई, रौतहट–३ का प्रभु साह, चितवन–३ का दिनेश कोइराला र रुपन्देही–१ बाट घनश्याम भूषाल निर्वाचित हुनसक्ने अनुमान गरिएको छ ।