काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार (भोलि) हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपील गरेकी छन् ।
शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।
‘भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशस् जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।’
जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको भनाइ छ । ‘जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ’, राष्ट्रपतिको भनाइ छ ।
प्रतिक्रिया