कांग्रेसविरुद्ध माओवादीको विष वमन

कांग्रेसविरुद्ध माओवादीको विष वमन



काठमाडौं । यो निर्वाचनलाई माओवादीभित्र आँधिको संज्ञा दिएका नारायणकाजी श्रेष्ठले घुमाउरो पारामा सत्ता साझेदार दल नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएका छन् । विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा प्रवेश गरेका अर्का माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगन थापाविरुद्ध खुलेरै स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धनलाई धोका दिएको आरोप लगाएका छन् ।

मत गणनाको क्रम चलिरहँदा माओवादी केन्द्रले सन्तोषजक मत प्राप्त गर्न नसकेपछि उनीहरुको आक्रोस सामाजिक सञ्जालमार्फत् बाहिर आएको हो । यो निर्वाचनलाई आँधिको संज्ञा दिएका नेता नारायणकाजीले पार्टीभित्रको धुलोमैलो मात्र होइन बाटो पनि सफा गर्ने उल्लेख गरेका छन् । यो निर्वाचनको पार्टीभित्र गम्भीर रुपमा विश्लेषण र संश्लेषण हुनुपर्ने नारायणकाजीको भनाइ गठबन्धन सहयात्री कांग्रेसले धोका दिएको आशय स्पष्ट झल्किन्छ ।

माओवादी केन्द्रका शीर्ष नेताहरु सार्वजनिक रुपमा कोही बोलेका छैनन् । तर कांग्रेस महामन्त्री थापाविरुद्ध विष ओकलेका माओवादी नेता दीपशिखाको आशय कांग्रेसको एउटा समूहले गठबन्धनलाई धोका दिएको छ । जसले गर्दा माओवादी पार्टीले नराम्रो पराजय व्यहोर्दैछ । महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन गरेर माओवादी उम्मेदवारलाई जिताउन होइन हराउन भूमिका खेलेको दीपशिखाको आरोप छ ।

निर्वाचन परिणाम आउने क्रम जारी छ, यस विषयमा अहिले नै टिप्पणी गर्नु हतार हुनेछ । तर, कांग्रेसको बैशाखी टेकेर तेस्रो शक्ति बन्ने माओवादी सपनामा ठेस लाग्ने पूर्वसंकेतहरु देखिन थालेको छ । यसैको पिरले माओवादीहरु सन्निपातका विरामीझै बर्बराउने थालेका हुन् भन्दा अतियुक्ति हुँदैन ।