काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहानसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ९ लाख ४५ हजार ९० मत पाएको छ । नेपाली कांग्रेसले ९ लाख २ हजार ४ सय १७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ५६ हजार ४६ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४ लाख २० हजार १ सय ८९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ४३ हजार ४ सय ८० मत पाएको छ ।
यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख १७ हजार ८ सय १४ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ७० हजार १ सय ३, नागरिक उन्मुक्ति पार्टीले ६६ हजार ६ सय ४८, नेकपा (एकीकृत समाजवादी)ले ६६ हजार २ सय ४९ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार ३ सय ६१ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ८ सय ६४ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३० हजार ६ सय १४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २६ हजार २ सय ६१ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १८ हजार ३ सय १८ मत पाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।


प्रतिक्रिया