कांग्रेसकै नेतृत्वमा पुनः सरकार गठन गर्ने तयारी

कांग्रेसकै नेतृत्वमा पुनः सरकार गठन गर्ने तयारी

डा. बाबुराम भट्टराई बन्लान् त राष्ट्रपति ?



काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगिरहँदा सरकार गठन कसरी होला भन्ने चासोले व्यापकता पाएको हो । समानुपातिक मत गणनासहित सबै परिणाम आइसक्न अझै केही दिन लागे पनि ६ वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टी लगभग पक्का जस्तै छ ।

सत्तारुढ गठबन्धनको सोचे अनुरुप परिणाम नआएपनि अहिलेसम्मको मत परिणामअनुसार गठबन्धन दललाई सुविधाजनक बहुमत प्राप्त भइसकेको छ । त्यसैले पनि गठबन्धन टुट्ने सम्भावना छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबारै भेट गरेर अब बन्ने सरकारका बारेमा छलफल गरिसकेका छन् ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४१, माओवादीले १८, नेकपा समाजवादीले १०, नेपाल स्वतन्त्र पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, स्वतन्त्र ८ जना छन् । दोलखा, बाजुरा र स्याङ्जा–२ मा मत गणना सुरु भएको छैन ।

अहिलेको ट्रेण्ड कायम नै रहे समानुपातिक मतका आधारमा ६ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्न सक्ने छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल स्वतन्त्र पार्टी, माओवादी केन्द्र, नेकपा (एमाले) र नेपाली कांग्रेस मात्र राष्ट्रिय पार्टी बन्ने छन् । समानुपातिकमा एमालेले सबैभन्दा धेरै सिट जित्न सक्छ । एमालेले ३६, कांग्रेसले ३४, माओवादीले १५, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ सिट समानुपातिकमा जित्न सक्छन् ।

मत परिणामको अहिलेको ट्रेण्ड यसै गरी रह्यो भने गठबन्धन नटुटी कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न कसैले छेक्न सक्दैन । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ९१, माओवादीले ४५, समाजवादीको १० र लोसपाको ४ सिट जोड्दा १ सय ५० पुग्छ । संसदमा बहुमतको सरकार गठन गर्न १ सय ३८ भए पुग्छ ।

एमाले, जसपा, नेपाल स्वतन्त्र पार्टी र राप्रपाको जोड्दा जोड्दा १ सय २३ मात्र पुग्छ । सरकार गठनका लागि उनीलाई थप १५ सांसद अपुग हुन्छ । सबै स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदले एमालेलाई समर्थन गर्ने सम्भावना देखिदैन । त्यसैले वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिनुको अर्को विकल्प देखिँदैन ।

सरकार गठनभन्दा अघि गठबन्धनभित्र पद बाँडफाँड महत्वपूर्ण हुने बताइएको छ । प्रधानमन्त्री कांग्रेस आफूले राखेपछि राष्ट्रपति र सभामुख अन्य सत्ता साझेदार दललाई दिनुपर्ने हुन सक्छ । प्रधानमन्त्रीपछि अर्को रोज्जाको पद राष्ट्रपति हो । सत्ता साझेदारको अर्को ठूलो दल नेकपा माओवादीले लिन सक्छ । अध्यक्ष दाहाललाई गोरखाबाट जिताएर ल्याएवापतको माओवादीले डा. बाबुराम भट्टराई पुरस्कार स्वरुप राष्ट्रपति पद दिन सक्छ ।

सत्ता गठबन्धनको तेस्रो ठूलो शक्ति नेकपा समाजवादीले सभामुख पाउन सक्छ । उसले भानुभक्त जोशी, प्रकाश ज्वाला र राजेन्द्र पाण्डेमध्ये एकजनालाई सभामुख बनाउन सक्छ । त्यसपछि उपसभामुख कांग्रेस आफैले राख्ने छ भने उपराष्ट्रपति लोसपालाई दिन सक्ने बुझिएको छ ।