६ पार्टी राष्ट्रिय दल बन्ने पक्का, नेकपा (एस) को सम्भावना न्यून

६ पार्टी राष्ट्रिय दल बन्ने पक्का, नेकपा (एस) को सम्भावना न्यून


ग्लोब नेपाल
8.9k
Shares

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ।

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ, भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ।

अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ।

यस आधारमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय दल बन्ने निश्चित भइसकेको हो।

यसबीच सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन सङ्घर्षरत छ। एकीकृत समाजवादीले २ लाख ५२ हजार १ सय ५५ समानुपातिक मत पाइसकेको छ। ३ लाख २० हजारलाई थ्रेसहोल्ड मान्दा प्रत्यक्षतर्फ १० सिट जितेको उसले समानुपातिकतर्फ अरू ७० हजार आसपास मत ल्याउनुपर्ने देखिन्छ।

आयोगको तथ्यांकअनुसार अहिलेसम्म समानुपातिक मत ९३ लाख ०८ हजार १ सय ६४ गनिसकिएको छ। अहिलेसम्मको हिसाबमा कूल सदर मत १ करोड ६ लाख ७० हजार मान्दा अब १६ / १७ लाख मत गन्न बाँकी देखिन्छ। यसबाट एकीकृत समाजवादीले ७० हजार मत पाउनुपर्ने हुन्छ।