सुनसरी-४ मा विवादित केन्द्रको पुन : मतगणना हुने

सुनसरी-४ मा विवादित केन्द्रको पुन : मतगणना हुने


ग्लोब नेपाल
945
Shares

काठमाडौँ । निर्वाचन आयोगले सुनसरी-४ मा विवादित मतदान केन्द्रको मात्रै पुन : मतगणना सुरु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले पूरै निर्वाचन क्षेत्रको पुन : मतगणना नगरी विवाद भएका केन्द्रका मात्र मत गन्न निर्णय गरेको हो ।

यसअघि गणना गरेर सिलबन्दी भइसकेका मतपेटिका अदालतको आदेशमा मात्र गणना गर्न सकिने आयोगले ठहर गरेको स्रोतले बताएको छ ।

सुनसरी-४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि ३ दिनदेखि मत गणना रोकिएको हो।

विवाद उत्पन्न भएपछि शनिबार अपराह्न सर्वदलीय बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ४ सय ३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३ सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।