एमाले अध्यक्ष ओलीलाई मेयर बालेनको जवाफः ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’

एमाले अध्यक्ष ओलीलाई मेयर बालेनको जवाफः ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कसैको विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाएर काठमाडौं महानगरपालिकाले जनताको बसोबास उठाएको आरोप लगाएका थिए । त्यसैको जवाफस्वरुप मेयर बालेनले अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् ।

मंगलबार मेयर बालेनले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै–
‘अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।