सात प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री

सात प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री



काठमाडौं । केन्द्रमा जस्तै ६ वटा प्रदेशमा सत्ता गठबन्धनको सरकार गठन हुने भएको छ । प्रदेश–१ मा नेकपा एमालेसँग साझेदार गर्ने दलहरुले सरकार गठन गर्ने छन् । सत्ता साझेदार दलहरुमध्ये नेपाली कांग्रेसले ४ वटा, माओवादी, लोसपाले एक–एक प्रदेशमा सरकार गठन गर्न सक्छ ।

सातवटै प्रदेशमा नेकपा एकीकृत (समाजवादी) ले जम्मा २३ सिट मात्र जितेको छ । उसलाई प्रदेशमा महत्वपूर्ण पद दिएर मनाउने प्रयास हुनेछ । यदि माधव नेपालले एउटा प्रदेश आफूलाई चाहिने अडान राखे प्रदेश १ मा सरकार गठनका लागि गठबन्धनले सहयोग गर्न सक्नेछ ।

नेकपा एकीकृत (समाजवादी) ले प्रत्यक्ष र समानुपातिकबाट प्रदेश १ मा ४, मधेश प्रदेश र बागमति प्रदेशमा ७–७, लुम्बिनी प्रदेशमा १, कर्णालीमा १ र सुदूरपश्चिममा ३ सिट जितेको छ । उक्त पार्टीले गण्डकी प्रदेशसभामा एउटा पनि सिट जित्न सकेन ।

प्रदेश–१
प्रदेशको नामाकरण नै गर्न नसकी एक कार्यकाल बिताएको प्रदेश–१ मा यसपटक एमालेको नेतृत्वमा सरकार बन्न सक्छ । ९३ सिट रहेको प्रदेश एकमा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । एमालेले ४० सिट जितेको छ भने राप्रपासँग ६ र जसपासँग १ सिट रहेको छ । दुई सिटको मत परिणाम आउन बाँकी रहे पनि त्यहाँ एमालेको बहुमत पुग्छ ।

एमालेले सरकार बनायो भने केपी ओलीका प्रिय पात्र हिक्मत कार्की मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । झापा जिल्ला सभापति दिपक कार्कीका भाइ हिक्मत विद्यार्थी राजनीतिबाटै उदाएका नेता हुन् । एमालेबाट अघिल्लो पटक मुख्यमन्त्री शेरधन राईभन्दा सिनियर भए पनि जातीय सन्तुुलन मिलाउन कार्कीलाई ब्याक गराइएको थियो ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीमा प्रतिस्पर्धा गर्नेछ । समाजवादीले पुनः राजेन्द्र राईलाई अगाडि सार्न सक्छ । यदि समाजवादीले आफ्ना उम्मेदवार अघि नसारे कांग्रेसले प्रदेश सभापति उद्धव थापालाई अगाडि सार्ने बुझिएको छ ।

मधेश प्रदेश
१ सय ७ सिट रहेको मधेश प्रदेशमा पनि कसैको बहुमत छैन । यो प्रदेशमा पनि एमाले नै ठूलो दल हो । उसले २३ सिट जितेको छ । उसको सहयात्री जसपासँग १५ सिट छ भने राप्रपाले २ सिट जितेको छ । बहुमतका लागि ५४ सिट आवश्यक पर्छ । एमाले गठबन्धनको ४० सिट मात्र हुन्छ ।

सत्ता गठबन्धनमा कांग्रेससँग २२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ९, एकीकृत समाजवादीसँग ७ र माओवादीसँग ८ सिट छ । यो गठबन्धनसँग जम्मा ४६ सिट मात्र हुन्छ । यो प्रदेशमा सिके राउतको जनमत पार्टी निर्णायक हुन्छ । उसँग १३ सिट छ । सत्ता गठबन्धनमा जनमत पार्टी मिसियो भने सजिलै बहुमत पुग्छ ।

सत्ता गठबन्धनको बहुमत पुगे कांग्रेसले राैतहट पार्टी सभापतिसमेत रहेका कृष्ण यादवलाई मुख्यमन्त्रीका रुपमा अघि सार्नेछ । उक्त प्रदेशमा लोसपाले दाबी गरे जितेन्द्र सोनाललाई अघि बढाउने छ भने कांग्रेस संस्थापनइतरले रामसरोज यादवलाई अगाडि सार्नेछ ।

बागमति प्रदेश
१ सय १० सिट रहेको बागमति प्रदेशमा सत्ता गठबन्धनको सजिलै बहुमत पुग्नेछ । बहुमतका लागि ५६ सिट आवश्यक पर्छ । दोलखाको मत गन्न बाँकी रहेको अवस्थामा कांग्रेसको ३६, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ । यो सबै जोड्दा ६४ पुग्छ ।

बागमति प्रदेशको मुख्यमन्त्रीका रुपमा इन्द्र बानियाँको नाम चर्चा गरिन्थ्यो । तर पछिल्लो घटनाक्रमले बानियाँको नाम मुख्यमन्त्रीको लाइनबाट आउट भइसकेको छ । मकवानपुर–१ बाट कांग्रेसबाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय (डिना) लाई असहयोग गरेको रिर्पोटिङ बालुवाटार पुगेपछि मुख्यमन्त्रीको लाइनबाट बानियाँको नाम काटिएको हो ।

मुख्यमन्त्रीमा यतिबेला दुईजनाको नाम अगाडि सारिएको छ । नुवाकोट–२ का बहादुरसिंह लामा र ललितपुर–२ बाट निर्वाचित रामकृष्ण चित्रकारको नाम अगाडि सारिएको छ । बहादुरसिंहको नामबाट नुवाकोटका केसीहरु सन्तुष्ट छैनन्, त्यसैले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको हातमा रामकृष्णको नाम परेको छ ।

गण्डकी प्रदेश
६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । यो प्रदेशमा कांग्रेस एक्लैले २५ सिट जितेको छ । माओवादीसँग ८ सिट रहेको छ भने एकीकृत समाजवादी शुन्य छ । कांग्रेस र माओवादी मिल्दा गठबन्धनको सजिलै बहुमत पुग्छ ।

यो प्रदेशमा मुख्यमन्त्रीका रुपमा कांग्रेसले दुईजनाको नाम अगाडि सारेको छ । प्रदेश सभापति शुक्रराज शर्मा र गोर्खाबाट निर्वाचित सुरेन्द्र पाण्डेमध्ये एकजना मुख्यमन्त्री बन्ने छन् । पार्टीइतरलाई मिलाउन तथा प्रदेश सभापतिको मर्यादा राख्नलाई भए पनि सभापति देउवाले शर्मालाई मुख्यमन्त्री बन्न बाटो खुलाइ दिने बुझिएको छ ।

लुम्बिनी प्रदेश
विगतदेखि नै चर्चामा रहेको लुम्बिनी प्रदेशमा यसपटक पनि कुनै राजनीतिक दलले बहुमत ल्याएका छैनन् । धेरै नै साना राजनीतिक दलहरु अस्तित्वमा आएकाले यस पटक पनि यो प्रदेशमा विगत दोहोरिने प्रशस्त सम्भावना छन् ।

७६ सिट रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ आवश्यक पर्छ । सबैभन्दा ठूलो दल एमालेले यहाँ २९ सिट जिते पनि उसको सहयात्रीको प्रभाव कमजोर देखिन्छ । राप्रपाले ४ र जसपाले ३ सिट मात्र जितेको छ । एमाले गठबन्धनको ३५ मात्र पुग्छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसले २७, माओवादीले ९ र लोसपाले ३ सिट मात्र जितेको छ । सत्ता गठबन्धनले जनमत पार्टीलाई पनि साथ दियो भने ४२ सिट हुन्छ । त्यसपछि उसलाई आवश्यक पर्ने २ सिट स्वतन्त्रबाट थुत्न सक्यो बहुमत पुग्छ ।

यदि सत्ता गठबन्धनले बहुमत पुर्यायो भने अब्दुल रज्जाक मुख्यमन्त्री बन्न सक्छन् । कांग्रेस प्रदेश सभापति अम्बर पुन रोल्पाबाट पराजित भएपछि रज्जाक मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो । यदि भागवण्डामा माओवादीलाई यो प्रदेश प-यो भने जोखबहादुर महरा मुख्यमन्त्री बन्न सक्छन् ।

एमालेले सरकार गठन ग-यो भने लीला गिरी र भोजप्रसाद श्रेष्ठ मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । गिरी एमाले पोलिटव्यूरा सदस्य हुन् भने श्रेष्ठ प्रदेश उपाध्यक्ष हुन् ।

कर्णाली
कर्णाली प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्छ । ४० सिट रहेको कर्णाली प्रदेशमा कांग्रेससँग १४ र माओवादीसँग १३ सिट छ । एकीकृत समाजवादीले एक सिट जितेको छ । सत्ता गठबन्धनको २८ सिट हुन्छ ।

यो प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीका लागि दुईजनालाई अगाडि सारेको छ । वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहमध्ये एकजनालाई अगाडि सार्ने तयारी भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रदेश भएकाले शाही नै पुनः दोहोरिन सक्छन् । शाहप्रति खड्का सकरात्मक नभएकाले पुनः शाही दोहोरिने सम्भावना बलियो छ ।

सत्ता गठबन्धनमा यो प्रदेश माओवादीलाई परे उसले राजकुमार शर्मालाई अगाडि सार्ने बुझिएको छ । कर्णाली प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बन्नसक्ने सम्भावना बलियो छ ।

सुदूरपश्चिम प्रदेश
५३ सिट रहेको सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनको सरकार बन्ने छ । बहुमतका लागि २७ सिट आवश्यक पर्ने यो प्रदेशमा कांग्रेस एक्लैसँग १८ सिट छ । माओवादीसँग ११ छ भने एकीकृत समाजवादीसँग ३ सिट छ । यो सबै जोड्दा ३२ हुन्छ । सुदूरपश्चिम प्रदेश सरकारमा यो संख्या भनेको सुविधाजनक बहुमत हो ।

यो प्रदेशमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराका खगराज भट्टलाई मुख्य मन्त्री बनाउने आश्वासन दिइसकेका छन् । माओवादीबाट निर्वाचित भट्ट प्रदेश इन्चार्जसमेत हुन् । कथंम माओवादीको नेतृत्वमा सरकार बनेन भने कांग्रेसले बहादुरसिंह थापालाई अगाडि सार्ने बुझिएको छ ।