स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना


ग्लोब नेपाल
4k
Shares

स्याङ्जा । निर्वाचन सकिएको १० दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको हो ।

मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।

सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरू गर्ने सहमति भइसकेको उनले बताए । निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरू गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी छ ।

यही मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा (एमाले)ले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।

कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।