अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा



दाेहा । फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको उपाधी दावेदार अर्जेन्टिनाले समूहको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै समूह विजेता बनेको हो ।

आज बिहान सम्पन्न खेलमा ३९औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्नबाट चुकेपछि पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

दोस्रो हाफको ४६औं मिनेटमा म्याक एलिस्टेरको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले ६७औं मिनेटमा एल्भारेजको दोस्रो गोलबाट जीत निश्चित बनाएको थियो ।

चार अंक बटुलेको पोल्याण्ड यस खेलमा पराजित भएपनि समूह सी बाट उपविजेताको रुपमा अन्तिम सोह्रमा पर्न सफल भएको छ । मेक्सिको र साउदी अरेबियाको खेलमा साउदी अरेबिया पराजित भएपछि पोल्याण्डलाई अन्तिम सोह्रमा पुग्ने ढोका खुलेको हो ।

यता समूह डी मा भने डेनमार्कलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो एशियाली राष्ट्र बनेको छ । डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम सोह्रमा स्थान बनाउन सफल भएको हो ।

यसै समूहबाट फ्रान्स हिजोको खेलमा ट्युनिसियासँग पराजित भएपनि समूह विजेताको हैसियतले अन्तिम सोह्रमा पहिले नै पुगिसकेको छ ।

फिफा विश्वकपमा आज दुई खेल खेलिंदैछन् । जसमा क्यानडाले मोरक्कोसँग र क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुकी ८.४५ बजेबाट सुरु हुँदैछ । त्यसैगरी आजै मध्यरात अन्य दुई खेल हुँदैछ । कोष्टारिकाले जर्मनीसँग सामना गर्दा जापानले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । खेल मध्यरात १२.४५ बजेबाट सुरु हुँदैछ ।