गगन थापा बन्लान् त कांग्रेस संसदीय दलको नेता ?

गगन थापा बन्लान् त कांग्रेस संसदीय दलको नेता ?



काठमाडौं । तत्काललाई नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि पाँच जना आकांक्षी देखिए पनि मुख्य गरी पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । त्यसो त सभापति देउवा, महामन्त्री थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा देखाएका छन् । सभापति देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा. शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् ।

दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ । यसमा अझै २ सिट थपिने सम्भावना बलियो छ । यदि स्याङ्जा–२ र बाजुराको सिट थपियो भने कांग्रेसको प्रत्यक्षतर्फ ५७ सिट पुग्छ । समानुपातिकतर्फ कांग्रेसले लगभग ३२ सिट पाउन सक्छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८९ जना सांसद्को प्रतिनिधित्व हुनसक्छ ।

कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै बन्ने र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्न दौडधुप बढेको छ । देउवासँग थापाबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र सिंहले संसदीय दलको नेता बन्ने कसरत जारी राखेका छन् ।

कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । १४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री डा. शशांकले मौन बसेर सभापतिमा देउवालाई सघाएको कांग्रेस वृत्तमा अहिले पनि चर्चा छ ।

सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आइरहेका छन् । उनले निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन् भने दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने अभिव्यक्ति दिइसकेका छन् ।

यस्तो छ कांग्रेस सांसदको अंकगणित–
निर्वाचित हुन बाँकी रहेका दुईलाई जोड्दा ५७ जनामध्ये ३७ जना संस्थापन पक्षका छन् । निर्वाचित बनेकामध्ये शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, डा. नारायण खड्का र मोहनबहादुर बस्नेत संस्थापन पक्षका हुन् ।

यसैगरी, किशोरसिंह राठौर, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, सीता गुरुङ, दिपक खड्का, अजयकुमार चौरसिया, रमेश रिजाल, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, मोहन आचार्य, पूर्णबहादुर तामाङ, उदयशमशेर राणा, विष्णुकुमार कार्की, टेकबहादूर गुरुङ, खमबहादूर गर्बुजा, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र देवप्रसाद तिमल्सिना पनि संस्थापन पक्षका मानिन्छन् ।

इतर समूहबाट २० जना सांसद निर्वाचित भएका छन् । डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारी, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, योगेश गौचन थकाली, राजु थापा, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सञ्जयकुमार गौतम, दिक्पालकुमार शाही, हृदयराम थानी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । धनराज गुरुङ र बद्री पाण्डे पनि निर्वाचित हुने बलियो सम्भावना छ ।

समानुपातिकतर्फबाट निर्वाचित हुने सिट संख्या तय भएपछि मात्रै नाम तय हुनेछ । तर, हालको अवस्थामा समानुपातिक प्रणालीतर्फ कांग्रेसको भागमा ३२ जना सांसद पर्ने छन् । अन्तिम परिणाम आउँदासम्म कांग्रेसलाई एक जना सांसद थपिने सम्भावना पनि छ । अहिलेलाई समानुपातिकतर्फ ३२ जनालाई मान्दा २२ जना संस्थापन पक्षीय र १० जना संस्थापन इतर पक्षका सांसद बन्ने छन् ।

संस्थापन पक्ष र संस्थापन इतर पक्षका कुल सांसदलाई कित्ताकाट गर्ने हो भने कांग्रेसका जम्मा ८९ सांसद मध्ये संस्थापनसँग ५९ जना र संस्थापन इतरसँग ३० जना सांसद हुने देखिन्छ । यदि पाँचै जना आकांक्षीहरु चुनाव लड्न तयार भएमा संसदीय दलको निर्वाचनको दोस्रो चरणमा पुग्दा संस्थापन पक्षबाट सभापति देउवा सर्वमान्य हुने देखिन्छ भने इतर पक्षबाट गगन थापा हुने देखिन्छ । यी दुईबीचको दोस्रो चरणको निर्वाचनबाट सहज रुपमा सभापति देउवा नै फेरि पनि संसदीय दलको नेता चुनिने देखिन्छ ।

यता, शेखर कोइराला लगायतका नेताले जुनियर नेता भन्दै गगन थापालाई आफ्नो नेता मान्ने परिस्थिति बनिसकेको भने देखिदैन । अहिलेसम्म शेखर कोइरालाले यस बिषयमा स्पष्ट रुपमा बताउन चाहेका छैनन् । काठमाडौ फर्किएपछि सभापति देउवा र गगन थापासँग छलफल गरेर निर्णय गर्ने बताउँदै आएका छन् ।

यदि शेखर कोइरालालगायत संस्थापन इतर पक्षले गगन थापालाई नेता मान्न तयार भएर एक ढिक्का भएमा लगभग ३० जना सांसदले थापालाई समर्थन गर्ने देखिन्छ । यही परिस्थितिमा कुनै ठूलै चमत्कार नभए गगन थापा नेपाली कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने बाटो ज्यादै कठिन देखिन्छ ।