सडक विभागका महानिर्देशक थापालाई किन लाग्यो लाज ?

सडक विभागका महानिर्देशक थापालाई किन लाग्यो लाज ?



काठमाडौं । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समन्वयकर्ताको जिम्मेवारी पाएकाहरुको हर्कत देखेर आफूलाई लाज लागेको बताएका छन् । बुटवल–नारायणघाट सडकको स्तरोन्नतिको काम ढिला भएर सबैले दुःख पाएकाले सरकारले निर्माण कम्पनीलाई काम छिटो सक्न दबाब सिर्जना गरेको थियो । तर सडक निर्माणमा प्रयोग हुने नदीजन्य पदार्थ ल्याउँदा स्थानीय प्रशासनले अवरोध गरेको छ । विकास निर्माणमा स्थानीय प्रशासनले समन्वय गर्नुपर्ने हो । तर, अवरोध गरेको देखेपछि महानिर्देशक थापाले आफूलाई लाज लागेको बताएका छन् ।

विकास निर्माणमा साझा धारणा बनाउन नसक्दा हामी पछि परेका हौं भन्ने तथ्य जगजाहेर छ । काम छिटो भएन भनेर राज्य र निर्माण कम्पनीलाई तथानाम गाली गर्ने प्रवृत्ति घामझै छर्लङ देखिएको सत्य हो । याे परिपाटी अन्त्य नभएसम्म विकासले गति लिँदैन भन्ने उदाहरण बुटवल–नारायणघाट सडक निर्माणमा देखिएको छ ।

सडक विभागका महानिर्देशक सामाजिक सञ्जालमा लेख्छन– ‘बुटवल नारायणघाट सडकको स्तरोन्नतिको काम ढिला भएर सबैले दुःख पाइयो भनेर चिनियाँ निर्माण व्यवसायीलाई दबाब सिर्जना गरियो । अहिले उसले काम गर्ने राम्र्रै सुरसार गरेको अवस्था छ । सडक बनाउन चाहिने ढुंगा, गिट्टी, बालुवा र माटो हामीले नै स्थानीय तवरबाट उपलब्ध गराउनुपर्छ । हामीले स्थानीय निकायहरुसँग सहकार्य गरेर सावासोती र देवचुली नगरपालिकाबाट नियमानुसारको राजस्व तिरेर माटो र सवबेसमा काम नलाग्ने तर माटोकै रुपमा उपयोग हुने नदीजन्य पदार्थ ल्याउँदा स्थानीय प्रशासनबाट अवरोध आएको अवस्था छ । हिजोदेखि काम ठप्प छ । चिनियाँलाई पनि कति गाली गर्नु ? समन्वयकर्ताको जिम्मेवारी पाएकाहरुकै हर्कत देख्दा लाज लाग्यो ।’