विश्वकप फुटबल: इङ्ग्ल्याण्ड र फ्रान्स क्‍वाटरफाइनलमा

विश्वकप फुटबल: इङ्ग्ल्याण्ड र फ्रान्स क्‍वाटरफाइनलमा


ग्लोब नेपाल
54
Shares

दाेहा । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो । अब इङ्ग्ल्याण्डले क्‍वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

यसैगरी फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्‍वाटरफाइनलमा पुगेको छ । फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गरेसँगै क्‍वाटरफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ ।

यसअघि सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्‍वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनमा प्रवेश गरेको हो ।

जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्दै
कतार फिफा विश्वकप २०२२ अन्तर्गत साेमबार र मंगलबार बिहान दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो । 

अर्काे खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार मंगलबार बिहान पौने एक बजे सुरु हुनेछ । ब्राजिल नेयमारको आगमनमा उच्च मनोबलमा छ । 

एसियाली जायन्ट कोरिया समेत समूह चरणको लय नकआउट चरणमा देखाउने योजनामा छ । ब्राजिल समूह ‘जी’को विजेता र कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।