काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलवार सकिने भएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउने छन् ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको थियो ।
एमालेलाई पपुलर मत
प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा (एमाले) पहिलो दल बनेको छ । केही स्थानमा मात्र मत गणना बाँकी रहेको अवस्थामा एमालेले २८ लाख ०१ हजार ८७० मत ल्याएको छ । दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ७३ हजार ०२७ मत ल्याएको छ । एघार लाख ६३ हजार ०८५ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ६१४ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६९८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५३७ मत ल्याएको छ ।


प्रतिक्रिया