समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक-एक सिट, कांग्रेस–एमालेलाई फाइदा

समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक-एक सिट, कांग्रेस–एमालेलाई फाइदा


ग्लोब नेपाल
20k
Shares

काठमाडौं । दोलखाको विवादित मतदान केन्द्रमा पुनः मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक-एक सिट बढाएका छन् ।

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको काँग्रेसले ३३ सिट पाउने निश्चित भएको छ ।

यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो ।

दोलखाको मतगणना अघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र काँग्रेसले ३२ सिट पाउने देखिएको थियो ।

हाल बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य भइरहेको छ । भोलिसम्म गणना सकिने भएपनि दलहरूले हालसम्मको अवस्थामा पाउने सिटमा तलमाथि नहुने निर्वाचन आयोगको भनाइ छ ।