देउवापछि गगन प्रधानमन्त्री !

देउवापछि गगन प्रधानमन्त्री !



काठमाडौं । समानुपातिकबाहेक निर्वाचनको परिणाम आइसकेको छ । समानुपातिकको पनि अहिलेसम्म गणना भएको मतअनुसार पार्टीहरुले प्राप्त गर्ने सीट संख्या अनुमान गर्न सक्ने अवस्था बनिसकेको छ । कुनै राजनीतिक दलको स्पष्ट बहुमत नभएकाले समीकरणमार्फत् सरकार बन्नुपर्ने अवस्था आएको छ । समीकरण कसरी बन्छ र भावी प्रधानमन्त्री को हुन्छ भन्ने कौतुहलताले यतिबेला नेपाली राजनीतिक बजार तातेको छ ।

राजनीतिमा हरेक विकल्प खुला रहन्छ । नेपालको परिवेशमा बहुमतको नाममा जस्तो पनि समीकरण बन्न सक्ने अनुमानलाई नकार्न सकिँदैन । राजनीतिक बजारमा जेजस्ताे हल्ला चले पनि एकातिर वामपन्थीहरुको सरकार बनाउने प्रयास भइरहेको छ भने अर्कोतिर गठबन्धनलाई निरन्तरता दिन दैनिक भेटघाट र बैठक चलिरहेका छन् ।

वामपन्थीहरुको सरकार बन्ने सम्भावना तत्काललाई टरेजस्तो देखिन्छ । एमाले नेता रघुवीर महासेठले यसको प्रयास गरेका थिए । महासेठले किस्तीमा प्रधानमन्त्री पदको प्रस्ताव बोकेर तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष राखेका थिए । तर अध्यक्ष दाहालले उक्त किस्तीको प्रधानमन्त्री पद अस्वीकार गरे । त्यो प्रस्ताव भनेको माओवादीलाई बिल्लीबाठ बनाउने हो भन्ने बुझेका दाहालले गठबन्धनमै रमाउने निधो गरेका छन् । महासेठको प्रस्तावलाई बरु अध्यक्ष दाहालले कांग्रेससँग बार्गेनिङ गर्ने हतियारको रुपमा उपयोग गरे ।

दश सांसद रहेको सत्ता सहयात्री नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेकाले गठबन्धनमा समस्या आएको राजनीतिक विश्लेषकहरु बताउँछन् । राष्ट्रिय पार्टी नबनेकाले जुनसुकै बेला सांसदहरुले माधव नेपालको साथ छोड्न सक्ने भएकाले सरकार अप्ठ्यारोमा पर्ने देखिन्छ । त्योभन्दा अगाडि नै एकीकृत समाजवादीलाई माओवादीसँग एकीकरण गरेर सरकारलाई बलियो बनाउने रणनीतिमा प्रचण्ड–नेपाल लागेको बुझिन्छ ।

पहिलो दल नेपाली कांग्रेस बनेको छ । फेरि पनि कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख दुई दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष दाहाल ‘पालैपालो दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने र अन्तिम वर्ष कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने गरी प्याकेज’ मै सहमति खोज्ने गरी उनीहरूबीच ‘जेन्टलम्यान एग्रिमेन्ट’ गर्ने तयारीमा नेताहरु जुटेको बालुवाटार स्रोतले बताएको छ ।

त्यसबेला सम्भवतः महामन्त्री गगन थापाको नेतृत्वमा चुनावी सरकार गठन गरेर कांग्रेस निर्वाचनमा जान सक्ने सम्भावना छ । युवा नेतृत्वको माग बढिरहेका बेला गगनलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेर कांग्रेस चुनावमा गयो भने जनतामा राम्रै सन्देश जाने बताइएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनका शीर्षनेताहरु ‘भावी सरकार गठन’को आन्तरिक गृहकार्यमा लागिसकेका छन् । यदि अन्तिम वर्ष कांग्रेसको भागमा पर्यो भने महामन्त्री गगन थापाको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति भए कांग्रेसको संसदीय दलको नेतामा देउवालाई सर्वसम्मत बनाउने इतर पक्षमा छलफल चलिरहेको बुझिएको छ ।

यद्यपि, माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘आफूलाई पहिलो दुई वर्षका लागि प्रधानमन्त्री पद दिन’ देउवासँग बारम्बार आग्रह गर्दै आएका छन् । यसमा देउवा भने सहमत हुन सकेका छैनन् । कांग्रेसले बरु सभामुख माओवादीलाई दिएर सुरुको दुई वर्ष प्रधानमन्त्री र राष्ट्रपतिमा आफ्नो अडान नछाड्ने बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेकाले पनि अब राष्ट्रप्रमुख पद कम्युनिष्टलाई दिन नहुने निष्कर्षमा कांग्रेस पुगेको सत्ता गठबन्धन बैठकमा सहभागी एक नेताले ग्लोब नेपाललाई बताए ।