पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर

पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर



कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनलाई हराउँदै मोरक्को क्‍वाटरफाइनलमा
यसैगरी यसअघि भएको खेलमा स्पेनलाई पराजित गर्दै मोरक्को क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् ।

पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए ।