शेरबहादुर देउवालाई एक प्रवासी कार्यकर्ताको पत्र

शेरबहादुर देउवालाई एक प्रवासी कार्यकर्ताको पत्र



सम्माननीय प्रधानमन्त्री तथा नेका पार्टी सभापतिज्यू,
सानेपा, काठमाडौं ।

आदरणीय शेरबहादुर दाइ
जय नेपाल !

उमेरमा मेरो बुवा समान हुनुहुन्छ, तैपनि म दाइ भनी सम्बोधन गर्दछु । नेपाली कांग्रेसमा दाइ भन्ने शब्दले एक किसिमको नजिक रहेको आभाष दिलाउँछ। तसर्थ, आफूभन्दा धेरै पाकालाई पनि म दाइ भन्न रुचाउँछु ।

प्रवासबाट पहिलोपटक म तपाईंलाई यो पत्र लेख्ने हिम्मत गर्दैछु। यो अवसर पनि प्रजातन्त्रको लागि पूरै जीवन खर्चनु भएको तपाईंहरु जस्तै नेतृत्वको कारणले हो। त्यसैले त आज बोल्ने अनि लेख्न सक्ने भएका छौं । झन्डै सवा करोड नेपालीले भर्खरै सम्पन्न निर्वाचनमा भाग लिनुभो तर त्यसको आधा हिस्सा नेपाली मतदानबाट बन्चित हुनुपर्‍यो । त्यसमध्येको अभागी नेपाली म पनि हुँ । मत परिणा पनि आइसकेको छ। पुनः एकपटक सबै नेपालीलाई मिलाएर लैजाने विरासत नेपाली कांग्रेसले पाएको छ । ५५ सालदेखिको क्रियाशील सदस्यको नाताले यो अवसर प्राप्त गर्दा साँच्चिकै गौरवको अनुभव पनि भएको छ ।

शेरबहादुर दाइ तपाईंले मुलुक असाध्यै अप्ठ्यारो अवस्थामा परेको बेला नेतृत्व दिनु भएको घाम जत्तिकै छर्लङ छ । दुई-दुई पटक स्थानीय, प्रदेश र संघको सफलतापूर्वक निर्वाचन गरी जनताद्वारा निर्वाचित जनप्रतिनिधि मार्फत शासन गर्ने प्रजातन्त्रको उच्चतम प्रयोगको लागि तपाईंको योगदानको जति कदर गरे पनि कम हुन्छ । यो सारांशमा एउटा चिट्ठी भएकोले राणाकालदेखि ४६ सालसम्म अनि त्यसपछि २०७९ सम्मको राजनैतिक घटनाक्रम लेख्न समय र शब्दको कमी हुने भएकोले म विषयवस्तुमा प्रवेश गर्दछु ।

सुदुर पश्चिमको एक कुनामा जन्मिएर सारा जीवन प्रजातन्त्रको लागि खर्चनु भएको तपाईंलाई मैले करीब २०४० सालदेखि पढ्दै आएको छु भने जम्माजम्मी ४ पटक भेट्ने अवसर पाएको छु । यो बीचमा म पनि ४४ बर्षको भइसकेको छु । प्रजातन्त्रप्रति तपाईंको अटल विश्वास र निडरताले गर्दा नै मुलुकको ५ पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो । आजको मेरो उमेरको आसपासमा तपाईं त देशको गृहमन्त्रीको हैसियतले कार्यसम्पादन गर्दै हुनुहुन्थ्यो। सुदुर पश्चिमलाई काठमाडौंसँग जोड्ने थुप्रै विकास र सम्भावनालाई मुर्तरुप पनि दिनुभो । भौतिक विकास र आधारभुत संरचनामा धेरै काम भए । नेपालबाट नेपाल जान भारत हुँदै जानुपर्ने बाध्यता पनि टारिदिनु भो । चाहे हिंसात्मक द्वन्द्वको जर्जर अवस्था होस् या एकतन्त्रीय शासनमा बोल्न बन्देज लगाउँदा होस् आफ्नो सामर्थ्यले भ्याएसम्म आफुलाई प्रमाणित गर्नु भएको छ । र त आज हामी २ पटकको पार्टी सभापति अनि ५ पटकको प्रधानमन्त्री भनेर गौरव गर्दछौं।

शेरबहादुर दाइ, जति सक्नुहुन्थ्यो गर्नुभो, अब उमेरलाई पनि ख्याल गर्नुस् । उमेरसँगै परिवर्तित विश्व अनि आधुनिक अर्थतन्त्र, विश्व भूमण्डलीकरण र एकसेएक युवादस्ता नेतृत्वको लागि अग्रसर अनि अनुभवी भइसकेको २०७९ को क्यालेन्डरलाई स्मरण गर्नुहुन अनुरोध गर्दछु । नेपाली कांग्रेस भन्नासाथ बीपी, सुवर्णसम्शेर, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादलगायतका नेतृत्व सम्झँदा जुन गर्व लाग्छ अब एकपटक हामी र कांग्रेसलाई माया गर्ने ती २८ लाख मतदाता तपाईंलाई त्यो सम्मानित र श्रेष्ठ स्थानमा देख्न चाहन्छौं ।

कांग्रेस पार्टीमा पुस्तान्तरण र युवाको नवीन विचार जबर्जस्त प्रवेश गराउने श्रेय तपाईंलाई नै जान्छ । आन्तरिक पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई किमार्थ नकार्नु हुँदैन भन्ने ज्वलन्त उदाहरण तपाईंबाटै हामीले सिकेको हो । हिजो तपाईं कार्यकारी हुँदै गर्दा जन्मिएका बालक आज २७ बर्षको तरुण भइसके । अबको नेतृत्व यो पुस्ताले लिनुपर्छ भन्ने संकल्पमा छन् जुन कुरो २०७४ र २०७९ को निर्वाचन परिणामलाई केलाउँदा प्रष्ट हुन्छ। यी दुई निर्वाचनमा झन्डै २० प्रतिशत मत घट्नुले नवीन तन्नेरी मतदाता नथपिनु, उल्टै भएको मतदातामा निराशा जाग्नु हो । समानुपातिक सुचीमा परिवारवाद हाबी हुनु र करीव ४ दशक त्यही नेतृत्वको सेरोफेरोमा उही उम्मेदार दोहोरिरहनुले पार्टीभित्र नवीनतम सोचको अभाव प्रस्टैसँग देखिएको छ ।

भलै यो गठबन्धनले हामी ठूलो दल देखिएता पनि समानुपातिक मतमा देखिएको अभिमतले पार्टीभित्र र सरकार चलाउन आमुल परिवर्तन खोजेको प्रस्टै हुन्छ । दाइ, पछिल्लो महाधिवेशनपश्चात पार्टीको महत्वपूर्ण भूमिकामा युवाको प्रवेशले केही रक्तसंचार भएको छ । यसलाई जीवन्त राख्न अबको स्टेरिङ्ग गगन पुस्तालाई सुम्पेर खबरदारी गर्ने काम तपाईं अग्रज दाइहरुको हो ।

अन्तमा दाइ,
अब को कतिपटक प्रधानमन्त्री भयो भन्ने रेकर्ड राख्न नभइ प्राप्त जनमतको कदर गर्दै समुन्नत नेपाल, सम्मानित नेपालीको नारालाई सार्थकता दिन, दिगो विकास, स्थिर सरकार र सामान्य जनताले सरकार भएको अनुभूति गराउन अब युवाको हातमा नेतृत्व सुम्पिने बेला आइसकेको छ । साँच्चिकै परिवर्तनको अपेक्षा बोकेका तीन करोड नेपाली चाहे देशभित्र हुन् या देशबाहिर सबैले भरोसा गर्नसक्ने आशाको मियो गगनकुमार थापालाई नेपाली कांग्रेसको अबको संसदीय दलको नेतामा दाइ स्वयमले प्रस्ताव गर्ने हो भने अबको ५ बर्षभित्र पुनः १५ सालमा जस्तो ओज भएको नेपाली कांग्रेस देख्न पाइने कुरामा हामी बिश्वस्त छौं । कांग्रेसभित्र रहर लाग्दा सबै युवा नेताहरुले एकै स्वरमा हाम्रो पुस्ताको गगन नै निर्विकल्प नेता भनिरहँदा दाइहरुको समकक्षी सबै आदरणीय नेताहरु अभिभावकीय भूमिकामा रहेर आफ्ना पाका अनुभवले खबरदारी र प्रोत्साहन गर्ने हो भने आगामी २०८४ सालको चुनावमा ५० प्रतिशत मतदाता कांग्रेसका हुनेछन् र मुलुकले नयाँ दिशामा काँचुली फेर्नेछ ।

नेपाली नागरिकता बोकेर विदेशमा रहने म जस्ता लाखौं नागरिकहरु आगामी निर्वाचनमा स्वस्फूर्त स्वदेश फर्कने छन्। एउटा दूरदर्शी राजनेताको रुपमा युगौंसम्म आफूलाई स्थापित गर्न तपाईं आदरणीय दाइ शेरबहादुर देउवाले प्राप्त गर्नु भएको यो अवसर पक्कै खेर फाल्नु हुने छैन भन्ने विश्वास लिएको छु।
जय नेपाल !

(भट्टराई नेपाली जनसम्पर्क समिति,अमेरिका मिचिगन च्याप्टरका संस्थापक सभापति हुन्।)