अध्यादेशविरुद्ध कांग्रेस महामन्त्री शर्मा र रवि लामिछाने

अध्यादेशविरुद्ध कांग्रेस महामन्त्री शर्मा र रवि लामिछाने


ग्लोब नेपाल
6.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायतलाई छुटाउने गरी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णयको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध जनाएका छन् । त्यसो त यो अध्यायदेशको सामाजिक सञ्जाल सर्वसाधारणदेखि विभिन्न पेशा तथा क्षेत्रका व्यक्तिहरुले समेत व्यापक विरोध गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले आइतबार राति ट्वीटरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य भन्दै सर्वोच्चले दोषी ठहर गरेकाहरूलाई छाड्ने निर्णयप्रति आफ्नो असहमति रहेको प्रष्ट पारेका छन् ।

संक्रमणकालमा अध्यादेश ल्याउने विषयमा दलहरुबीच र आफ्नै दल कांग्रेसभित्र भएको घनिभूत छलफलको हेक्का नराखिएको भन्दै शर्माले सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको उल्लेख गरेका छन् । शर्माले यो विषय कानुनी, राजनीतिक मात्रै नभई नैतिक प्रश्न समेत भएको बताएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पनि सरकारले ताजा जनादेश र संसदको अधिकारी मिचेर अध्यादेश ल्याउन खोजेको बताएका छन् । नयाँ संसदको बैठक बस्न कति समय लाग्ला भन्ने प्रश्न गर्दै लामिछानेले त्यस्तो के आपत् आइलागेको छ र एक दुई हप्ता पनि कुर्न नसकी अध्यादेश ल्याउनु पर्‍यो भन्ने प्रश्न गरेका छन् । सरकारको कदम ताजा जनादेशको मर्म विपरित मात्रै नभएर राजनीतिक निर्लज्जातको पाराकाष्ठा समेत हो भन्दै लामिछानेले अध्यादेश ल्याउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।