काठमाडौं । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पहिलो चरणमै सरकारको नेतृत्व खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । यो अध्यायदेश कार्यान्वयनमा आए राजनीतिक मुद्दा लागेर जेल बसेका रेशम चौधरीलगायत अन्य बन्दी छुट्न सक्छन् । संसदमा ३ सिट रहेका रेशम चौधरीको राजनीतिक पार्टी सरकारमा आए माओवादी बिनाकै सरकार बन्न सक्ने विश्लेषण गरिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट भए पनि पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व कसले लिने भन्ने विषयमा अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् । हिजो आइतबार प्रेस सेन्टरको एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले सबै परिणाम बुझाएपछि सरकारको नेतृत्वको विषयमा समझदारी गरेर अघि बढिने बताए ।
प्रचण्ड पहिलो चरणमै सरकारको नेतृत्व लिने अडानमा छन् । आलोपालो प्रधानमन्त्रीको नेतृत्व गर्दा पहिलो चरणमा नपाए सरकारमा नजाने प्रचण्डले सङ्केत दिइसकेका छन् । पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व नपाएमा पछि प्रधानमन्त्री बन्न निक्कै सकस हुने भएकाले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । बरु काँग्रेस र एमालेले सरकार बनाए आफू सदन र सडकको मोर्चालाई बलियो बनाउने प्रचण्डले बताएका थिए ।
माओवादी संसदीय अङ्कगणितमा तेस्रो भएकाले पहिलो चरणमै सरकारको नेतृत्व प्रचण्डले पाउने सम्भावना भने सहज छैन । त्यसैले सत्ता साझेदारीका लागि कांग्रेसले माओवादीको विकल्प खोजिरहेको छ । कांग्रेसले माधवकुमार नेपालको एकीकृत समाजवादीलाई भने साथैमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्ति र अन्य स्वतन्त्रको सहयोगमा सरकार गठन गर्न सक्ने बताइको छ ।
कांग्रेससँग ८९, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टीको ४ लगायतको गठबन्धन बन्यो भने सुविधाजनक बहुमत बन्न सक्ने विश्लेषण गरिएको छ । यदि राजनीति यतातिर मोडियो भने कांग्रेसले दुई स्वतन्त्रलाई पहिले पार्टीमा मिलाउन सक्छ । मोरङ–५ बाट निर्वाचित योगेन्द्र मण्डल र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह कांग्रेसमा प्रवेश गर्न खुट्टा उचालिसकेका छन् । बाँकी रहेका ३ स्वतन्त्रमध्ये बर्दियाबाट निर्वाचित लालबीर चौधरी सत्ता गठबन्धनमा प्रवेश गर्ने प्रवल सम्भावना छ ।
संसदमा दोस्रो ठूलो दल एमाले, तेस्रो ठूलो दल माओवादी र पाँचौं दल राप्रपालाई बाहिर राखेर प्रधानमन्त्री देउवाले सरकार गठनको कसरत थालेका छन् । यदि यो कसरत सफल भयो भने माओवादी अध्यक्ष प्रचण्डको पहिलो चरणमै प्रधानमन्त्री बन्ने सपनामा ठेस पुग्ने सम्भावना बलियो बन्दै गएको बताइएकाे छ ।


प्रतिक्रिया