शेखर–गगन समूहद्वारा प्रचण्ड नेतृत्वको सरकार ठाडै अस्वीकार

शेखर–गगन समूहद्वारा प्रचण्ड नेतृत्वको सरकार ठाडै अस्वीकार


ग्लोब नेपाल
7.3k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कसरत सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न कसरत गरिराख्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अर्को खेलमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश जारी गरेर नयाँ सरकार गठबन्धनकै बन्ने वातावरण निर्माणको प्रयास गरेका छन् ।

हिंसात्मक राजनीतिमा लागेकाहरूसँग राज्यले सम्झौता गरेको छ भने उनीहरूका नेता कार्यकर्ताविरुद्ध राज्यका तर्फबाट लगाइएका मुद्दा जुनसुकै तहको अदालतमा भए पनि फिर्ता हुनेगरी अध्यादेश जारी गरेर नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने बाटो खुला गर्न देउवा सरकारले यस्तो अलोकप्रिय निर्णय गरेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लोपटक प्रधानमन्त्री बनाउँदा चुनावपछिको पहिलो सरकार प्रचण्डको नेतृत्वमा बनाउने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’को विषय अहिले माओवादी केन्द्रले उठाइरहेको छ । त्यसलाई वर्तमान प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले ठाडै अस्वीकार गरेका छैनन् । त्यसैले उनले शेखर–गगन समूहले पार्टीको हैसियतका आधारमा त्यो कुरा स्वीकार नगर्ने भन्दै शेखरलाई मनाउन प्रचण्डलाई सुझाव दिएका थिए ।

देउवाको सुझावपछि प्रचण्डका तर्फबाट महासचिव देव गुरुङले डा. शेखर कोइरालालाई प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । तर, शेखरले गुरुङको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् । ८९ सिट भएको पार्टीले ३२ सिट भएको पार्टीलाई समर्थन गरेर सरकार बनाउने कुरा हुँनै नसक्ने भनाइ काेइरालाकाे थियाे ।

कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने पक्षमा शेखर रहेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङ भने सरकार गठनका लागि वैधानिक ‘ग्राउन्ड’ नै तयार नभइसकेको भन्दै आफूले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरे । महासचिव गुरुङले विगतमा शेरबहादुर प्रधानमन्त्री हुँदा प्रचण्डलाई दिने ‘जेण्टलमेन एग्रिमेन्ट’का विषयमा पनि बोल्ने समय नै नआएको बताए । उनले औपचारिक रूपमा कुनै प्रस्ताव नआएको र अनौपचारिक कुराकानीलाई प्रस्ताव भन्न नमिल्ने बताएका छन् ।

८९ सिट भएको काँग्रेसलाई ३२ सिट भएको माओवादी केन्द्रले पहिलो सरकार आफ्नै नेतृत्वमा बनाउन राखेको प्रस्तावले काँग्रेसमा तरङ्ग पैदा भएको छ । सार्वजनिक भएको निर्वाचन परिणामअनुसार काँग्रेस प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा ३२ सिट गरी ८९ सिटसहितको पहिलो दल बनेको छ भने नेकपा एमाले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिटको दल बनेको छ ।

वर्तमान सत्ता गठबन्धनसँग काँग्रेसको ८९, माओवादी केन्द्रको ३२ सिट, नेकपा एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको ४ र राष्ट्रिय जनमोर्चाको एकसहित १३६ सिट छ । तर, थप दुई सिट नलिँदासम्म गठबन्धनको पनि सरकार बन्ने अवस्था छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक हुन्छ ।