देउवालाई प्रधानमन्त्री बन्न नदिन कांग्रेसभित्रै चलखेल

देउवालाई प्रधानमन्त्री बन्न नदिन कांग्रेसभित्रै चलखेल



काठमाडौं । संसदमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नभएपछि नयाँ सरकारको गठनका लागि नयाँ नयाँ समीकरणहरु हुन थालेका छन् । सरकार गठनका लागि संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पहिलो हकदार हो । उसले केही स्वतन्त्रलाई मनाएर गठबन्धनको सहयोगमा सरकार गठन गर्नसक्छ ।

तर, संसदमा सत्ताको साँचो बोकेको तेस्रो ठूलो राजनीति शक्ति नेकपा माओवादी केन्द्र पहिला आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दलिलबाट पछि हटेको छैन । यही माखे साङ्लोमा अड्किएको नेपालको राजनीति कतातिर मोडिन्छ, अहिले नै अनुमान लगाउँदा हतार हुन्छ ।

सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धन बलियो पोजिसनमा छ । तर प्रधानमन्त्री को बन्ने विवादले निकास पाउन सकेको छैन । सबैभन्दा ठूलो दल हुनुको नाताले कांग्रेसले प्रधानमन्त्री पदमा दाबी छाडेको छैन । कांग्रेसबाट पार्टी सभापति नै संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने कुरामा कुनै आशंका छैन । यता, तेस्रो ठूलो दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफू छिट्टै देशको कार्यकारी बन्ने र सम्झनलायक काम गर्ने उद्घोष गरिसकेका छन् ।

यही परिवेशमा कांग्रेसबाट देउवालाई प्रधानमन्त्री बन्न रोक्न सकियो भने ठूलो हिस्सा लिएर सरकारमा जान खुट्टा उचाल्ने पार्टीका शीर्ष नेताहरुको कमी देखिएको छैन । अबका दिनमा मन्त्री नखाने घोषणा गरेका कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्का यो दौडमा धेरै अगाडि देखिएका छन् । यदि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भए कांग्रेसको तर्फबाट उपप्रधानमन्त्रीसहित रोज्जा मन्त्रालय लिएर सरकारमा जाने रणनीतिमा उपसभापति खड्का देखिएको विश्लेषकहरु बताउछन् । यसका लागि उनले पार्टीभित्र आफ्ना अबयबहरु परिचालन गरिसकेको बुझिन्छ । उनको यो रणनीतिबारे बालुवाटार गम्भीर रहेको बताइएको छ ।

लामो राजनीतिक यात्रामा कांग्रेसले केही दिने गुनासो गर्ने पार्टीको सिनियर नेता रामचन्द्र पौडेल पनि आफ्नै ल्याङल्याङ बोकेर भेटघाटमा समय खर्चिरहेका छन् । उनको भित्री इच्छा प्रधानमन्त्री नभएर राष्ट्रपति बन्न खोजेको बुझिन्छ । देउवालाई प्रधानमन्त्री बन्न रोकियो भने राष्ट्रपति कांग्रेसको भागमा पर्ने पौडेलको बुझाइ छ ।

यदि कांग्रेसको भागमा राष्ट्रपति प-यो भने पछिल्लो समय सभापति देउवाका अनन्य सहयोगी बनेका पौडेललाई राष्ट्रपति बन्न कसैले रोक्न सक्दैन । त्यसैले सरकार गठनमा पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिलोज्यान दिएर लागेको बुझिन्छ ।

देउवा अथवा प्रचण्ड जो प्रधानमन्त्री बने पनि कुनै अर्थ नराख्ने लाइनमा उभिएका कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको नेतामा सभापति देउवासँग फाइट गर्ने तयारीमा छन् । यसपटक देउवासँग संसदीय दलको नेतामा फाइट गरियो भने अर्को पटकलाई सहज हुने महामन्त्री थापाको बुझाइ छ । र, कांग्रेसमा पहिलो चरणमै संसदीय दलको नेता निर्वाचित भएको इतिहास पनि छैन । त्यो खड्को काट्नका लागि पनि थापा जुनसुकै हालतमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहन्छन् ।

अर्को महामन्त्री विश्वप्रकाश शर्मा खुलेर गगन थापाको पक्षमा वकालत गरिरहेका छन् । गगनलाई संसदीय दलको नेता निर्वाचित गराउन विश्वप्रकाश जोडबलले लागेका छन् । उनको यो निस्वार्थ लबिङ पक्कै नभएको बताउनेहरु कांग्रेसमा धेरै छन् । अहिले प्रधानमन्त्रीका रुपमा गगनलाई काँधमा बोकियो भने पार्टी महाधिवेशनमा विश्वप्रकाशलाई गगनले काँध हाल्ने सक्ने बताइएको छ । एकजना महामन्त्री सरकारको नेतृत्व र अर्को महामन्त्री पार्टीको नेतृत्वमा पुग्ने मार्गचित्रअनुसार यी गतिविधिहरु भइरहेको बताइन्छ ।

ठूलो दलको नाताले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने चाहना कोइराला दाजुभाइमा मात्र देखिन्छ । गगनलाई मान्नुभन्दा सभापति देउवाको छत्रछायाँमा राजनीतिक भविष्य देखेका शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने अडानबाट टसमस भएका छैनन् । यता, देउवापछि आफू नै पार्टीको नेतृत्वमा पुग्ने बताइरहेका शशांक कोइराला पनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने लाइनमा स्पष्ट अडिएका छन् ।

सरकार गठनका लागि कोइरालाहरुको लाइन सफल हुने हो भने पार्टी उपसभापति खड्का र सिनियर नेता पौडेलको रणनीति सफल हुने अथवा महामन्त्री द्वयले पार्टीलाई अन्त्यै डो-याउन सक्छन् त्यो अहिले नै भन्न सकिने अवस्था छैन । यदि उधारो प्रधानमन्त्री पदमा प्रचण्ड सहमत भए भने पुसको दोस्रो साता नै मुलुकले नयाँ सरकार पाउन सक्छ । होइन भने पुस महिनाभरि समीकरणको तानाबानाले समय घर्किने निश्चित जस्तै छ ।