३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप

३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप



दाेहा । सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले पाएको छ । कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो । निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो ।

अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भएका हुन् । अर्जेन्टिनाले छैटौंपटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । तेस्रोपटक च्याम्पियन बन्न अर्जेन्टिना ३६ वर्ष लाग्यो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकप जितेको थियो । त्यसबेला डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

३६ वर्षपछि अर्जेन्टिनालाई च्याम्पियन बनाउन कप्तान मेस्सीले उच्च प्रदर्शन गरे । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो । फ्रान्सलाई हराएसँगै अर्जेन्टिनाले सन् २०१० मा स्पेनको शैलीमा च्याम्पियन बनेको छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जित्न सफल भएको थियो ।

अर्जेन्टिनाले पनि पहिलो खेलमा हार भोगे पनि त्यसपछिको सबै खेल जितेर च्याम्पियन बनेको हो । कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले त्यसपछि मेक्सिकोलाई २–०, पोल्यान्डलाई २–०, अस्ट्रेलियालाई २–१, नेदरल्यान्ड्सविरुद्ध २–२ कोबराबरीपछि अतिरिक्त समयमा ४–३ को जित र सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुगेको थियो ।

फाइनलमा पेनाल्टीमा फ्रान्सले दुई मौका गुमाउँदा अर्जेन्टिनालाई विश्वकप ट्रफी उचाल्ने मौका मिल्यो । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा फ्रान्स चम्कियो ।

फाइनलमा फ्रान्सका किलियन एम्बापेको ह्याट्रिक गरे । उनले ८०, ८१ र ११८ औं मिनेटमा गोल गरे । खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरेर अग्रता लिएका थिए । उनले १०८ औं मिनेटमा अर्को गोल गरेका थिए । ३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।