पूर्वराष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर

पूर्वराष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर



न्यूयोर्क । गत वर्ष अमेरिकी संसद्मा मच्चाएको हुलदंगा र हिंसात्मक गतिविधिसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि आपराधिक अभियोगहरू लगाउन सिफारिस गरेको छ ।

डेमोक्र्याट सांसदहरूले नेतृत्व गरेको संसदीय छानबिन समितिले ट्रम्पमाथि कारबाही गर्ने पक्षमा सर्वसम्मतका साथ मतदान गर्दै संघीय न्याय मन्त्रालयलाई कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग ट्रम्प पराजित भएपछि उहाँका समर्थकहरूले गत वर्षको जनवरी ६ मा वासिङ्टनस्थित अमेरिकी संसद् भवन रहेको क्यापिटल भवनभित्र दंगा मच्चाएका थिए ।

क्यापिटल भवनमा भएको हिंसात्मक घटनासम्बन्धी करिब १८ महिना लामो छानबिन टुंग्याउँदै संसदीय समितिले ट्रम्पमाथि राज्यविरुद्ध विद्रोही गर्न उक्साएको वा सघाएको, सरकारी कानुनी प्रक्रिया अघि बढाउन अवरोध गरेको, झुटो विवरण दिने षड्यन्त्र गरेको र देशमाथि धोकाधडी गरेकोसहितका चारवटा आरोपहरू लगाएको छ ।

संसदीय समितिले पूर्वराष्ट्रपति ट्रम्पले ट्रम्पका सहयोगी होप हिक्सले चुनावी हार अस्वीकार गरेको एउटा नयाँ भिडियो पनि सार्वजनिक गरेको छ। एउटा विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति ट्रम्पले संसदीय समितिको निर्णयको आलोचना गर्दै आफूले केही गलत नगरेको बताउनुभएको छ ।