संसदीय दलको निर्वाचनमा गगनको मत कति ?

संसदीय दलको निर्वाचनमा गगनको मत कति ?



काठमाडौं । अन्ततः नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचन भोलि बुधबार हुँदैछ । यो निर्वाचनमा सभापति देउवा सहजै निर्वाचित हुने आंकलन गरिए पनि पहिलो पटक संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महामन्त्री थापाले कति मत ल्याउँछन् भन्ने कुरा बडो चासोका साथ हेरिएको छ ।

संस्थापनइतरले प्रतिनिधिसभा निर्वाचनमा २२ वटा टिकट पाएको थियो भने समानुपातिकमा ९ जनालाई उम्मेदवार बनाइएको थियो । संस्थापनइतरबाट टिकट पाएका २२ मध्ये १८ जना निर्वाचित छन् भने समानुपातिकबाट ९ जना नै निर्वाचित भएका छन् । संस्थापनइतरको दायाँबायाँ नहुने मत भनेको यहि जम्मा २७ हो । तर, महामन्त्री थापाले मत बढाउन सक्ने आंकलन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल हो । देउवाको यो अन्तिम कार्यकालबाट केही पाउने आशा नभएका, तर अहिलेको परिवेशमा गगनलाई साथ दियो भने राजनीतिक भविष्य देख्ने केही युवाहरुको मत गगनले तान्ने अनुमान गरिएको छ । त्यसो त अर्का महामन्त्री विश्वप्रकाश शर्मा गगनलाई संसदीय दलको नेता बनाउन दिलोज्यान दिएर लागेका छन् ।

सभापति देउवाको कार्यकालबाट केही नपाउने तर अहिले गगनलाई सहयोग गरे उज्वल राजनीतिक भविष्य देख्नेहरु झन्डै एक दर्जन रहेको बताइएको छ । भक्तपुरका दुर्लभ थापा, काठमाडौं–५ का प्रदीप पौडेल, स्याङ्जाका राजु थापा, म्याग्दीका खमबहादुर गर्बुजा, पर्वतका कुशुम थापामगर, नवलपरासीका विष्णुकुमार कार्की तथा गोरखाका अवसरवादी राजेन्द्र बजगाईहरुले गगन थापाको दौराको फेरो समाए भने कुनै अनौठो नहुने जानकारहरु बताउँछन् ।

महाधिवेशनमा जस्तै संसदीय दलको निर्वाचनमा पनि सिनियर नेता रामचन्द्र पौडेल नखुल्ने अनुमान गरिएकाे थियाे, तर उनी सभापति देउवाकाे प्रस्तावक बसेका छन् । गगनलाई नेता मान्ने पक्षमा उनी उभिएनन् । अर्को नेता प्रकाशमान सिंह भने पार्टी सभापतिको पक्षमा खुलेर लागेका छन् । शेखरलाई समेत नेता मान्न अस्वीकार गर्ने सिंहले गगनलाई नेता मान्ने सम्भावना छैन ।

कांग्रेस संसदीय दलमा ८९ मत छ । सरसरर्ती हेर्दा सभापति देउवाको पक्षमा ५७ मत देखिन्छ भने महामन्त्री गगनको पक्षमा ३२ मत छ । यो अनुमानित मतमा दुई–तीन मत तलमाथि हुनसक्ने देखिएको छ । यदि तलमाथि भएन भने सभापति देउवा ५७ मत ल्याएर विजयी हुने निश्चित छ । १५ मत भएको प्रदेश–१ बाट सभापति देउवालाई ९ मत आउँछ भने मधेश प्रदेशबाट ६ मत आउँन सक्छ । प्रदेश–१ मा महामन्त्री थापालाई ६ र मधेश प्रदेशबाट ५ मत आउन सक्छ । मधेश प्रदेशबाट कांग्रेसको ११ जना सांसद छन् ।

सभापति देउवालाई सबैभन्दा बढी मत बागमति प्रदेशबाट आउँछ । बागमति प्रदेशमा २३ मत छ । यो २३ मतमध्ये सभापति देउवालाई १६ मत आउन सक्छ भने महामन्त्री थापाको पक्षमा ७ मत मात्र पर्न सक्छ । गण्डकी प्रदेशबाट रामचन्द्र पौडेलसहितको मत देउवालाई आउँछ । याे प्रदेशबाट सभापति देउवालाई ७ र महामन्त्री थापालाई ५ मत आउन सक्छ । लुम्बिनी प्रदेशमा १० मत छ । यो १० मतमध्ये सभापति देउवालाई ६ र महामन्त्री थापाको पक्षमा ४ मत पर्न सक्छ ।

कर्णालीको ७ मत मध्ये सभापति देउवाको पक्षमा ४ र महामन्त्री थापाको पक्षमा ३ मत पर्न सक्छ । उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको यो प्रदेशबाट महामन्त्री थापालाई ४ र सभापति देउवालाई ३ मत पर्ने सम्भावना पनि त्यत्तिकै रहेको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा सभापति देउवाको एक्लौटी जस्तो देखिन्छ । यहाँको १० मतमध्ये ८ मत सभापति देउवा र २ मत मात्र गगन थापालाई जान सक्छ । बाजुराका बद्री पाण्डे र दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू मात्र गगनको पक्षमा देखिएका छन् ।