काठमाडौं । निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्रीहरू उत्खनन, औसार पसारलगायत पछिल्लो समयमा देखिएको समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले यो उद्योग आक्रान्त छ । यसको ठोस निकास दिन महासंघले सरोकारवाला निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराउँदै आइरहेको पनि छ। विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समुह विशेषले मात्र यस्ता खानीहरू संचालन गर्दै आइरहेका छन् । जसले गर्दा यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन सकेन ।
सोही कारणले यी उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालाबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । राज्यले क्रसर उद्योगहरू निर्माण कार्यको मुख्य सिजनमा विना पूर्व सूचना नियमन गरिँदा क्रसर उद्योगहरूबाट उत्पादित निर्माण सामाग्रीहरू उत्खनन, उत्पादन र ओसारपसारमै गम्भीर समस्या आएको छ । जसको कारणले गर्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजना लगायत सम्पूर्ण निर्माण कार्यहरूमा परेको छ । सोही कारणबाट निर्माण कार्यका लागि खानी तथा नदीजन्य निर्माण सामग्रीहरूको अभाव भई निर्माण कार्यहरू ठप्प हुन पुगेको व्यहोरा जानकारी गराउँदछौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नदी तथा खानीजन्य सामाग्रीहरूको उत्पादन, उत्खनन् र संकलनका रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले विना मापदण्ड अनुचित रुपले फरक फरक निर्धारण गर्ने गरेको पाइएको छ । यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारद्वारा नै निर्धारण गरिनुपर्दछ । साथै निर्माण सामाग्रीहरूको उद्योग क्षेत्र राज्यबाटै तोक्दा र उचित मुल्य निर्धारण गर्न महासंघ जोडदार माग गर्दछ । इन्धनसहित निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट गत पुस २० गते जारी भएको निर्देशनबाट निर्माण उद्योग लगायत आम उपभोक्तामा गम्भीर असर परेको छ।’
यसबाहेक नदीजन्य तथा खानीजन्य निर्माण सामाग्रीको हालको समस्याले त्यस्ता सामग्रीहरूको अभाव सिर्जना भई कार्टेलिङले प्रश्रय पाउने र विगतमा जस्तै चरम मुल्यवृद्धि हुने र केही समय अघि देखि चर्कोमूल्य वृद्धिको मारमा परेका निर्माण व्यवसायीहरू थप मारमा पर्ने निश्चित छ । गिट्टी, बालुवा, माटो, ढुंगा लगायतका निर्माण सामग्री उत्खननमा समस्या देखिए चालु निर्माण परियोजनाहरूको लागत र समय बढ्ने देखिएको छ । यसवाट विगतमा झै काम गर्न नसकेको भनी निर्माण व्यवसायीमाथि अनर्गल आरोप लगाउने अवस्था सिर्जना हुने देखिन्छ । परियोजनास्थल र सो सँग सम्बद्ध क्षेत्रमा रहेको नदी तथा खानीजन्य निर्माण सामाग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणहरू समेत संचालन गर्न प्रतिवन्ध लगाइएकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाध रुपमा निर्माण व्यवसाय संचालन गर्ने आवश्यक वातावरण बनाउन महासंघ नेपाल सरकार लगायतका सम्बन्धित् सबै निकाय समक्ष जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया