सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

भोलि २० लाख बुझाएर छुट्छन्। विदेश जानलाई सर्तहरू छन्


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमै छाड्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए ।

‘भोलि २० लाख बुझाएर छुट्छन्। विदेश जानलाई सर्तहरू छन्,’ उनले भने । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ । लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् ।

उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।