शेखर समूहले फेरि बोलायो बैठक

शेखर समूहले फेरि बोलायो बैठक


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आन्तरिक छलफलका लागि बैठक बोलाएको छ । भोलि बिहान ८ बजे बत्तिसपुतलिस्थित अनुपम फुडल्यान्डमा बस्ने बैठकमा पार्टीका भ्रातृ संस्था र विभागहरूबारे छलफल हुने बताइएकाे छ ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू र सांसदहरूसहित अन्य नेताहरूलाई बोलाइएको छ ।

शेखर समूहको बैठक आइतबार बिहान पनि बसेको थियो । त्यो बैठकमा नेता कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए । भ्रातृ संस्थाको विस्तार र विभाग गठनको विषयमा पनि छलफल भएको थियाे । बैठकमा बोल्ने नेताहरूले भ्रातृ संस्था र विभागमा ४० प्रतिशत भागबन्डा प्याकेजमै लिनुपर्ने बताएका थिए । 

कांग्रेसले पाँचवटा भ्रातृ संस्था विस्तार गर्ने तयारी गरेको छ । नेविसंघ, तरुण दल, आदिवासी जनजाती संघ, महिला संघ र किसान संघ विस्तार गर्ने तयारीमा कांग्रेस छ । यस्तै विधानसम्मत विभाग गठनगर्नुपर्ने बाध्यता कांग्रेसलाई छ । अहिले पार्टीभित्र यसका लागि तयारी भइरहेको बताइएकाे छ ।