कहाँ छन् फरार एमाले सांसद कोइरी ?

कहाँ छन् फरार एमाले सांसद कोइरी ?



काठमाडौं । विज्ञप्ति जारी गरेर पक्राउ गर्न आदेश दिएको गृहमन्त्रालयले आजका मितिसम्म नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई फेला पार्न सकेको छैन । कुनै पनि व्यक्तिलाई पक्राउ गर्न गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको सम्भवतः यो पहिलो पटक हो । अदालतले अपराधी करार गरेको व्यक्तिलाई पक्राउ गर्न मन्त्रालयबाट विज्ञप्ति जारी गरिँदैन ।

धनुषामा सात वर्षअघि मधेश आन्दोलनका क्रममा घाइते भएका सिनियर प्रहरी सहायक निरीक्षक (सई) थामन विश्वकर्मालाई थप उपचारका लागि एम्बुलेन्समा लगिँदै थियो । सांसद कोइरीको समूहले एम्बुलेन्सबाट थुतेर सइ विश्वकर्माको हत्या गरेको थियो । धनुषा जिल्ला अदालतबाट १० लाख रुपैयाँ धरौटी राखेर छुटेका सांसद कोइरीलाई उच्च अदालत जनकपुरले फरारको सूचिमा राखेको छ ।

हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेको टिकटमा महोत्तरी–१ बाट निर्वाचित कोइरीले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिएका थिए । माघ ५ गते सभामुख चयनका बेला पनि उनी उपस्थित थिए । ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडाले अदालतको फरार सूचिमा रहेका व्यक्तिसमेत संसद भवनमा देखिएको कुरा उठाएपछि गृहमन्त्री रवि लामिछानेलाई नैतिक संकट परेको थियो ।

आज फेरि गृहमन्त्रीले बोली फेरेका छन् । उनले राज्यका संयन्त्रहरु ट्रयाकबाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न गाह्रो भएको बताएका छन् । ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेले आरोप लगाउँदै पन्छिन खोजेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतोबारे निर्णय लिन ढिलाइ भएको बताएका छन् ।

गृहमन्त्री लामिछानेले नैतिक संकटबाट जोगिन प्रहरीलाई पक्राउ गर्ने निर्देशन विज्ञप्तिमार्फत् दिएका थिए । विज्ञप्ति जारी भएको साता दिन बित्दा पनि प्रहरीले सांसद कोइरीलाई पक्राउ गर्न सकेको छैन । मन्त्रालयले सबै जिल्ला प्रशासनमा समेत पत्राचार गरेर सांसद कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । तर प्रहरीले सांसद कोइरी कहाँ छन् भन्ने कुरोको भेउसमेत पाएको छैन ।

नेपाली प्रहरी अपराध अनुसन्धानमा संसारकै अब्बलमध्ये एक मानिन्छ । तर संसद भवनबाट उम्केको फरार सूचिको व्यक्तिलाई पक्राउ गर्न नसक्नुमा दुईवटा कारण हुनसक्ने विज्ञहरु बताउँछन् । पहिलो कारण राजनीतिक संरक्षण पाएका व्यक्तिलाई भेटे पनि प्रहरीले पक्राउ गर्न चाहेको छैन । गृहमन्त्रीले विज्ञप्तिमार्फत् आदेश दिने तर पक्राउ नगर्न गोप्य आदेश दिएको हुनसक्ने आशंका गरिन्छ । अर्को कारण गृहमन्त्रीको आदेशलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले धोती लगाएको हुनसक्ने बताइएको छ । गृहमन्त्री लामिछाने र महानिरीक्षक सिंहबीच सम्बन्ध राम्रो छैन, त्यसैले आफ्नो ठाउँबाट असहयोग गर्न महानिरीक्षक सिंहले गृहमन्त्रीको निर्देशनको बेवास्ता गरेको हुनसक्ने बताइएको छ ।

सांसद कोइरी भागेर भारत पुगेको प्रायोजित हौवा चलाइएको छ । पक्राउ गर्न गृहमन्त्रालयले विज्ञप्ति जारी गर्नुपर्ने तथा सांसद कोइरीका विषयमा दैनिक बेग्लाबेग्लै किसिमको समाचार बाहिर ल्याइनु र पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाउनु संयोग मात्र मान्न नसकिने सुरक्षा निकायसँग नजिक रहेका जानकारहरु बताउँछन् ।

अदालतले फरार सूचिमा राखेर सांसद निर्वाचित भएका कोइरी पहिलो होइनन् । यसअघि संविधानसभामा रौतहट–१ बाट बबन सिंह निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा बारा–२ बाट प्रभु साह पनि निर्वाचित भएका थिए । आम निर्वाचन २०७४ मा कैलाली–१ बाट रेश्म चौधरी निर्वाचित भएका थिए । अदालतले फरार सूचिमा राखेका सिंह पनि राजनीतिक संरक्षणमै खुला भएका थिए । चौधरी जेलमै छन् । निर्वाचित भएर पनि चौधरीको कार्यकाल जेलमै बित्यो, अहिले पनि उनी जेलमै छन् । तर प्रभु साहको केसमा पनि प्रहरी कठोर रुपमा प्रस्तुत भएको थियो ।

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रभु साहलाई बचाउन प्रहरीलाई दिएको निर्देशन निक्कै रोचक थियो । राजनीतिक संरक्षण कस्तो हुँदोरहेछ भन्ने एउटा उदाहरण यहाँ देख्न पाइन्छ । त्यसबेला पर्सामा रमेश खरेल प्रहरी प्रमुख थिए । प्रधानमन्त्री डा. भट्टराईले एसएसपी खरेललाई प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रभु साहको मुद्दा दर्ता नगर्न निर्देशन दिएका थिए । तर खरेलले आफू बर्दी यही खोल्न तयार रहेको तर साहविरुद्धको मुद्दा दर्ता गरेरै छाड्ने प्रधानमन्त्रीसँग धम्कीयुक्त भाषा बोलेर फर्किएका थिए । त्यसपछि प्रधानमन्त्री भट्टराईले तत्कालिन प्रहरी प्रमुख रविन्द्र शाहलाई बोलाएर प्रभु साहको मुद्दा दर्ता नगर्न निर्देशन दिएका थिए । प्रहरी प्रमुख शाहले पनि प्रधानमन्त्री आदेशलाई धोती लगाइदिएका थिए ।

सांसद कोइरीको घटना पनि प्रभु साहसँग मिल्दोजुल्दो छ । कोइरी आफ्नो सरकार भएको बेला लुकेर हिड्नुपर्ने अवस्था सिर्जना भएको छ । उनलाई बचाउन राज्यसत्ता अनेक तानाबाना बुनिरहेकाले प्रहरीले निस्कृय भएको हो अथवा कोइरी साँच्चै फरार छन् त्यसको वास्तविकता केही दिनमा सार्वजनिक हुने जानकारहरु बताउँछन् ।