राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न


ग्लोब नेपाल
0
Shares

काठमाडौँ  । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सव समारोह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने र आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । अर्थमन्त्री पौडेलले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउन सुझाब दिए ।

अर्थमन्त्री पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ साथै विशेषाङ्क स्मारिका उपहार-२०७९ विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए । उनले अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने पनि बताए ।

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए ।