क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग

क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् ।

पत्रकार सम्मेलनमार्फत केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् । उनीहरूले नेपाल टी– २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरूले नेपाली टी– २० लिगको मुख्य दोषी क्यानको कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्य रहेको दाबी गरेका छन् ।

आ–आफ्ना पदबाट राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका उनीहरूले नेपाली क्रिकेटलाई जोगाउन दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।

उनीहरूले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएकोले मुख्य जिम्मेवार क्यान नेतृत्व भएको दाबी गरेका छन् ।