सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकल

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकल


ग्लोब नेपाल
0
Shares

लमजुङ । लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ५० लाखभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९-०८० को साउनदेखि पुस मसान्तसम्म नगरपालिकाको आन्तरिक आयतर्फ विभिन्न शिर्षकमा ५० लाख ३१ हजार ४ सय ३६ रुपैयाँ राजश्व संकलन भएको हो ।

जसमध्ये सम्पत्ति कर १७ लाख ६१ हजार ५ सय ७६ रुपैयाँ र नक्सापास दस्तुर बापत १० लाख ५७ हजार २ सय २५ रुपैयाँ संकलन भएको छ । ढुंगा गिट्टी, बालुवा शिर्षकमा मात्र चालु वर्ष २० लाखको राजश्व संकलनको लक्ष्य लिइएको नगरपालिकाले ६ महिनाको अवधिमा २ लाख १७ हजार आम्दानी गरेको छ । 

यसैगरी सिफारिस दस्तुर ८ लाख ७६ हजार ३ सय, घरवहाल कर ७ लाख ८६ हजार ४ सय ९३, व्यवसाय कर तथा रजिष्ट्रेसन दस्तुर ६४ हजार ९ सय, व्यक्तिगत घटना दर्ता दस्तुर ९७ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ । सो वाहेक परीक्षा शुल्क ४५ हजार ५ सय अन्य प्रशासनिक सेवा शुल्कतर्फ ६ हजार ३ सय, दण्डरजरिवाना र जफत शिर्षकमा १० हजार राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । विभिन्न १२ शिर्षकलाई आम्दानीको मुख्य श्रोत मानेको नगरपालिकाले चालु वर्षमा १ करोड ५० लाख राजश्व संकलनको अनुमानित लक्ष्य लिएको छ ।

चालु वर्षको आधाआधी समयमा करिव ३४ प्रतिशत राजश्व संकलन भएकाले बाँकी समयमा नगरपालिकाले आफ्नो लक्ष्य भेट्ने संभावना भने न्युन देखिएको छ । राजश्व संकलनमा अनुमानित लक्ष्य प्राप्तीको लागि व्यवसाय कर, घरवहाल कर एवम् दहत्तर बहत्तरबाट उठ्ने राजश्व संकलनमा जोड दिइने नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७८र०७९ मा १ करोड १० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ करोड २३ लाख ६४ हजार २१ रुपैयाँ २३ पैसा राजश्व संकलन गरेको थियो ।