एसियन हाइड्रोपावरको २७ माघदेखि आईपीओ खुल्ने

एसियन हाइड्रोपावरको २७ माघदेखि आईपीओ खुल्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं  । एसियन हाइड्रोपावरले २७ माघदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ कम्पनीले जारी गर्न लागेको हो ।  

आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सेयर यसकम्पनीले सर्वसाधारणका लागी छुट्याएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ । साथै सामुहिक लगानी कोष ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता र कर्मचारीहरुका लागी २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता छुट्याएको छ । 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

सर्वसाधारणले ६ लाख ९७ हजार २ सय कित्ताका लागि आवेदन दिनसक्नेछन् भने फागुन २ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।