गृह नपाउँदैमा सरकारबाट बाहिरिने हल्ला सत्य होइनः सहमहामन्त्री बुर्लाकोटी

गृह नपाउँदैमा सरकारबाट बाहिरिने हल्ला सत्य होइनः सहमहामन्त्री बुर्लाकोटी


ग्लोब नेपाल
216
Shares

काठमाडौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने दाबी गरेका छन् । गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले भने, ‘सभापतिलाई गृहमन्त्रीको रूपमा पठाउँदा के सजिलो–अप्ठेरो हुन्छ वा अरूलाई पठाउँदा के हुन्छ हामी निर्णय गर्छौँ ।’

गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य नभएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए । उनले भने, ‘तर हामीलाई गृह मन्त्रालय किन नदिने भन्ने प्रस्ट र बलियो कारण त दिनुपर्‍यो नि ।’

सरकार गठन गर्दा दलहरुबीचको छलफलमा गृह मन्त्रालय रास्वपाले पाएकाले त्यसमा आफूहरूको अधिकार उनको भनाइ छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन कानुन अनुसार पुर्‍याउनुपर्ने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्च अदालतको आदेशमा रास्वपाका सभापति लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार नेपाली नागरिकता लिएपछि लामिछाने गृह मन्त्रालय फेरि आफूलाई दिन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

मङ्गलवार पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटबारे सहमहामन्त्री बुर्लाकोटीले भने ‘सभापतिसँगको भेटमा प्रधानमन्त्रीले हुन्छ हामी सोचौला, छलफल गरौँला भन्नुभएको छ ।’