अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् : प्रधानमन्त्री

अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् : प्रधानमन्त्री


ग्लोब नेपाल
243
Shares

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्या सुधार हुने संकेतहरु देखिन थालेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव एवं चीन सरकारको १ अर्ब रुपैयाँ सहयोगमा निर्माण भएको भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।

चीनले भौतिक पूर्वाधारदेखि भूकम्पका कारण भत्केका संरचना बनाउन सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएपछि बैंक तथा व्यवसायीको बीचमा नयाँ रुपमा सम्बन्ध अघि वढाउने कार्यको थालनी गरेको भन्दै यसको सकारात्मक सुधार देखिएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने आधारहरु देखा परेको बताए ।

सरकार अर्थतन्त्र सुधार गरेर जनतालाई सुशासन दिने पक्षमा काम गरिहेको उनको भनाइ थियो । उनले अहिलेको सरकारलाई धेरै दलको सर्मथन प्राप्त भएकाले यो ठूलो जिम्मेबारी र चुनौती भएको महसुससहित आफू जनताको काममा केन्द्रित भएको प्रचण्डको जिकिर थियो । नेपालको आर्थिक विकासका लागि मित्रराष्ट्र चीन र भारत दुवै देशसँग सहकार्यका लागि आफूले अग्रसरता लिएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाली जनताको विकासको चाहना सम्बोधन गर्न हातेमालोको आग्रह गरेको भन्दै उनले शिक्षाको क्षेत्रमा लगानी गरेर मात्र विकास गर्न सकिने बताए ।