एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ : महासचिव पोखरेल

एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ : महासचिव पोखरेल


ग्लोब नेपाल
567
Shares

मकवानपुर । नेकपा एमाले महसचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र सहमतिको खोजी गर्ने बताएका छन् । सत्तापक्षको तर्फबाट एमालेले उम्मेदवार उठाउने र प्रतिक्षमा रहेकाहरूले साथ दिए भने राष्ट्रिय सहमतिको सरकार बन्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आज हेटौंडामा यस्तो बताएका हुन् ।

समाजमा अराजकतावाद मौलाउँदै आएको र त्यसको सुरुवात व्यक्तिवादबाट भएको भन्दै उनले नेकपा एमाले यसको विरोधमा रहेको र सामूहिकतावाद स्थापित गर्न युवा संघ लाग्नुपर्ने बताए । समाज परिवर्तनको अभिभारा पूरा नभएको उनको भनाइ छ । उनले बदलिँदो समाजलाई सुदृढीकरण गर्न उत्पादनमा जोड दिनु अपरिहार्य रहेको उल्लेख गरे ।

एकभन्दा बढी संगठनमा बसेर पद ओगट्नुभन्दा कार्यप्रभावकारिता देखाउन उनको आग्रह छ । सबै जनताको बीचमा एमाले पुग्न नसकेका कारण देशमा राजनीतिक भविष्य कोर्नमा एमालेले नेतृत्व गर्न नपाएको उनले बताए ।

कृषि, उद्योग, शिक्षा, स्वास्थ्य जहाँसुकै नेतृत्वका लागि अब्बल युवा बनाउने तर्फ जोड हुनुपर्ने पोखरेलको भनाइ छ । एमालेले मेहनत नगरे कांग्रेस बलियो हुने भएकाले युवा शक्तिले अतिरिक्त मेहनत गर्नै पर्ने उनले बताए । श्रमिकलाई व्यवस्थापक बनाउन तर्फ संगठनको ध्यान हुनुपर्ने उनले बताए ।