राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन

कांग्रेसले कसलाई उम्मेदवार बनाउँदैछ ?


ग्लोब नेपाल
405
Shares

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए । आज ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

उपाध्यक्षका लागि एमालेले उर्मिला अर्यालको नाम अगाडि सारेको छ भने प्रतिपक्षी दलको तर्फबाट कांग्रेसले उम्मेदवारी दर्ता गराउने भएको छ । तर, कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आज आइतबार बिहान ११ बजे बस्ने बैठकले निर्णय लिने बताइएको छ ।