जनमतको सन्देश नै राष्ट्रिय सहमति गरेर जाऊ भन्ने छ : पौडेल

जनमतको सन्देश नै राष्ट्रिय सहमति गरेर जाऊ भन्ने छ : पौडेल


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्य मुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताएका छन् । उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले ७० वर्षभन्दा लामो संघर्षबाट प्राप्त भएको संविधानका उपलब्धिहरूको रक्षा गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

‘यो व्यवस्था ल्याउनका लागि नेपाली जनताले गरेको ७० वर्ष लामो संघर्षप्रति सम्मान गरौँ । हामीले यही व्यवस्थाका कारण हामीले यहाँ सदनमा बहस गरिरहेका छौँ,’ उनले भने, ‘हामीले ल्याएको यो संविधान र व्यवस्था त्यतिकै आएको छैन, यसको रक्षा गर्दै जनताको भावना र विकासलाई जोडेर अघि बढ्नु सबै राजनीतिक शक्तिको दायित्व हो, संवाद, सहमति र सहकार्यको विकल्प छैन ।’