सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छु : प्रधानमन्त्री

सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छु : प्रधानमन्त्री


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा लागेको छ ।’ त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे ।