एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने

एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि पहल गर्ने भएको छ । आइतबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता जगन्नाथ खतिवडाले वामपन्थी शक्तिहरूलाई एक बनाउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।

‘वामपन्थी आन्दोलनलाई एकीकृत गर्न आवश्यक छ । हामीले नगरे अरूले सक्ने परिस्थिति छैन । त्यसकारण एक असल कम्युनिस्ट पार्टीको नाताले वामपन्थी शक्तिहरू एक बनाउन लागिपर्छौं,’ उनले भने ।

उनले आफूहरूको प्राथमिकतामा सरकार नभएको पनि बताए । आफूहरू प्रतिपक्षमा रहेको र प्रतिपक्ष दलको भूमिकालाई सशक्त बनाइने उनको भनाइ छ ।

‘सरकार हाम्रो प्राथमिकताको विषय होइन । संसद्मा प्रतिपक्ष भएर बस्ने, सशक्त भएर जनताका आवाज उठाउने र जनमतलाई हाम्रा एजेन्डाहरू सुनाउन मिहेनत गर्ने हाम्रो प्राथमिकता हो,’ उनले भने । बैठकले पार्टीको संगठनलाई विस्तार गर्ने पनि निर्णय गरेको छ ।