आइतबार देशभरका स्वास्थ्य सेवा बन्द: चिकित्सक संघ

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द: चिकित्सक संघ


ग्लोब नेपाल
270
Shares

काठमाडाैं । नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार राष्ट्रपतिको सवारका क्रममा चिकित्सकमाथि कुटपिट भएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ : ‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ : ‘मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’