कांग्रेस सांसद भण्डारी र आमालाई उपचारका लागि विदेश लैजान सिफारिस

कांग्रेस सांसद भण्डारी र आमालाई उपचारका लागि विदेश लैजान सिफारिस



काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ जलनले गम्भीर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमालाई उपचारका लागि विदेश लैजान डाक्टरले सिफारिस गरेको छ । उनीहरुको उपचार भइरहेको कीर्तिपुर अस्पतालले यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– माननीय सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारको गम्भीर जलन भइ कीर्तिपुर अस्पतालको आकस्मिक विभागमा बुधबार राति १०ः३० बजे आइपुगेका हुन् ।

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहनुभएका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए । उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।