सांसद भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

सांसद भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन



काठमाडौं । ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् ।

अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हावा र धुँवाका कारणले जलन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरि, सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले बताएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।