गोंगबुमा तोडफोड र लुटपाट गर्ने १२ जना पक्राउ

गोंगबुमा तोडफोड र लुटपाट गर्ने १२ जना पक्राउ



काठमाडौं । गोंगबुमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगन्ज पठाइएको उनले बताए ।

गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । योसहित हालसम्म उक्त घटनामा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।